मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमार सडकमा भएको पिकअप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बुधबार राति करिब १०:५० बजे योद्धा पिकअप अनियन्त्रित भई सडकबाट १०० फिट तल खसेको थियो।
नेपाल प्रहरी र नेपाली सेनाको टोलीले दुई घाइतेको उद्धार गरी उपचारका लागि पठाएको थियो। दुर्घटनामा सिन्धुलीका बोधराज बुढाथोकी र बाराका इन्जिनियर सूर्य यादवको मृत्यु भएको छ। बुढाथोकी सेनाका पूर्व हवल्दार हुन्। यादव फास्ट ट्र्याक आयोजनामा कार्यरत थिए।
बिहीबार बिहान हेटौंडा अस्पतालमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए। शव हेटौंडा अस्पतालमा राखिएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको छ।
