गण्डकी प्रदेशका एक-दुई ठाउँमा आज दिउँसो भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई ठाउँमा पनि ठूलो पानी पर्नेछ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगमा मध्यमसम्मको वर्षा र हिमपातको अनुमान छ।
भोलि र पर्सी पनि देशका केही ठाउँमा ठूलो वर्षा हुने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। देशका धेरैजसो स्थानमा पानी परेपछि गर्मी घटेको छ।
हिजोसम्म सुदूरपश्चिमको तराईमा गर्मी बढे पनि राति पानी परेपछि तापक्रम घटेको छ। आज र भोलि पनि पानी पर्ने भएकाले तातो दिनको अनुभव नहुने मौसमविद्हरूले बताएका छन्।
महाशाखाका अनुसार आगामी केही दिनभित्र नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्ने सम्भावना छ।
