चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीको पाँच कठ्ठा जमिन अहिले तरकारीले लटरम्म छ। दैनिक एक हजार ५०० देखि दुई हजार रुपैयाँको तरकारी बेच्ने थरुनीको आम्दानीले आर्थिक अवस्था सुधारेको छ। यसले उनलाई महिला हिंसा र हकअधिकारबारे सचेत बनाएको छ।
सोही वडाकी दिलकुमारी काफ्लेले बाख्रापालनबाट आम्दानी गरिरहेकी छन्। सुनिता माझीले किराना पसल चलाएर परिवार पालेकी छन्। राजपुर नगरपालिका–९ बैरियाकी मिनादेवीले तरकारी खेतीबाट छोराछोरी पढाउनेदेखि घर खर्च चलाउन सहज भएको बताइन्। गुलसन खातुनले घरमै टेलरिङ व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बनेकी छन्।
राजपुर–५ स्कुलटोलकी जरिमा खातुनले टेलरिङ व्यवसायबाट तीन छोराछोरीलाई पढाउनुका साथै लैङ्गिक हिंसा न्यूनीकरण अभियानमा सक्रियता देखाएकी छन्। यी महिलाहरू ग्रामीण विकास केन्द्र नेपालद्वारा सञ्चालित लैङ्गिक हिंसा न्यूनीकरण परियोजनामा आबद्ध छन्।
इस्लामिक रिलिफ क्यानाडाको सहयोगमा सञ्चालित परियोजनाले करिब एक हजार महिलालाई स्वरोजगार र आर्थिक सशक्तीकरणमा सहयोग पुर्याएको छ। परियोजना प्रमुख धर्मेन्द्र साहका अनुसार, राजपुर र चन्द्रपुर नगरपालिकाका १२ वडामा लैङ्गिक हिंसा न्यूनीकरण र सामाजिक-आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन गरिएका छन्।
चन्द्रपुर नगरपालिकामा ४३० जनालाई र राजपुर नगरपालिकामा ५८० जनाभन्दा बढी महिलालाई प्रतिव्यक्ति ६५ हजार रुपैयाँका दरले व्यवसाय सञ्चालनका लागि नगद सहयोग गरिएको छ। महिलाहरूको रुचिअनुसारका कार्यक्रमलाई सहयोग गरिएको छ।
सामाजिक सशक्तीकरणका लागि सामुदायिक सिकाइ तथा संरक्षण केन्द्र स्थापना गरी किशोरीहरूलाई जीवनोपयोगी सीप सिकाउने र नेतृत्व विकासमा सहयोग गर्ने कार्य भइरहेको छ। चन्द्रपुरमा ५ र राजपुरमा १४ वटा यस्ता केन्द्र सञ्चालनमा छन्। हालसम्म दुई हजार ४०० बालबालिकाले रूपान्तरण कोर्स पूरा गरेका छन्।
ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसेनले महिलाहरूलाई व्यवसायसँगै तालिम, वित्तीय साक्षरता र प्रशिक्षण दिने गरिएको बताए। घरका पुरुष सदस्यलाई समेत लैङ्गिक हिंसा र महिला अधिकारबारे प्रशिक्षण दिइँदै आएको छ।
