नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष रामबहादुर थापाले भारतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको सरकार चाहेको संकेत देखिएको दाबी गरेका छन्। नेपालको वर्तमान राजनीतिक नेतृत्वसँग भारत सन्तुष्ट नरहेको उनको भनाइ छ। शुक्रबार एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले लामिछानेको हालैको भारत भ्रमण र त्यहाँ प्राप्त उच्चस्तरीय स्वागतलाई लिएर यस्तो टिप्पणी गरेका हुन्।
एउटा राजनीतिक दलका अध्यक्षलाई भारतमा प्रधानमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत शीर्ष नेताले विशेष महत्व दिएर स्वागत गर्नु सामान्य घटना नभएको थापाले बताए। यसले भारत नेपालको वर्तमान नेतृत्वप्रति असन्तुष्ट रहेको र वैकल्पिक नेतृत्व स्थापित गर्न इच्छुक रहेको राजनीतिक सन्देश दिएको उनको विश्लेषण छ। “भारत अहिलेको विद्यमान नेतृत्वसँग सन्तुष्ट छैन र नेपालको नेतृत्वमा अरू कसैलाई स्थापित गर्न सहयोग गर्न चाहन्छ भन्ने संकेत देखिन्छ,” थापाले भने।
थापाले रास्वपा नेतृत्वको सरकारले स्वेच्छाचारिता र अधिनायकवादतर्फ देशलाई धकेलिरहेको आरोप लगाए। सरकार नागरिकको मौलिक अधिकारमाथि हस्तक्षेप गरिरहेको र सुकुम्बासीहरूमाथि दमन गरिरहेको उनको दाबी छ। लोकतान्त्रिक संस्थाहरू कमजोर बनाउने गतिविधि भइरहेको पनि उनले उल्लेख गरे।
प्रधानमन्त्रीले सीमा विवाद र भारतसँगको सम्बन्धबारे हालै दिएको अभिव्यक्तिलाई थापाले ‘राष्ट्रिय आत्मसमर्पणवाद’ को संज्ञा दिए। प्रधानमन्त्रीको भनाइ सत्ता जोगाउन भारतलाई सन्देश दिने प्रयास भएको उनको आरोप थियो।
एमालेभित्र देखिएका कमजोरीकै कारण विपक्षी शक्तिहरू अस्थायी रूपमा सफल भएको उल्लेख गर्दै थापाले पार्टीलाई नयाँ विचार, नीति र संगठनात्मक संरचनाका आधारमा पुनर्गठन गर्नुपर्ने बताए।
