कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका किसान रोपाइँका लागि तयार पारेको धानको बेर्नामा ढुसीजन्य रोगको सङ्क्रमण फैलिएपछि चिन्तित छन्। रोगले बेर्ना जलेको जस्तो देखिने, पहेँलो भएर सुक्ने र नष्ट हुने क्रम बढेको छ।
पिपलाँडीका किसान जोखुराम चौधरीले बेर्नामा क्षति पुगेपछि रोपाइँ गर्न नपाउने चिन्ता बढेको बताए। ‘पहिलोपटक तयार गरेको बेर्ना अधिकांश नष्ट भएपछि पुनः बीउ छर्नुपरेको छ’, उनले भने, ‘रोपाइँ सुरु हुने बेला फेरि बेर्ना तयार गर्नुपर्ने अवस्था आएको छ।’ समयमा रोग नियन्त्रण नगरे रोपाइँ प्रभावित भई उत्पादनमा असर पर्ने उनको भनाइ छ।
नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करनसिंह बुढाऐरका अनुसार बेर्नामा रोग लागेको गुनासो लिएर आउने किसानको सङ्ख्या बढेको छ। किसानलाई सतर्क रहन र प्राविधिक परामर्शका लागि शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।
‘नगरको प्रमुख खाद्यान्न बाली धान हो’, बुढाऐरले भने, ‘बेर्नामा समस्या देखिएकाले नियन्त्रण नगरी रोपाइँ गर्दा उत्पादनमा ठूलो असर पर्न सक्छ। किसानलाई सचेत गराउने र रोग व्यवस्थापनका उपायबारे जानकारी दिने काम भइरहेको छ।’
रोग नियन्त्रणका लागि ‘कार्बेन्डाजिम’ र ‘म्यान्कोजेब’ विषादी प्रतिलिटर पानीमा दुई दशमलव पाँच ग्रामका दरले मिसाएर बेर्ना राम्रोसँग भिज्ने गरी छर्कन उनले सुझाव दिए। सात दिनको अन्तरालमा विषादी प्रयोग गर्न सकिने उनको भनाइ छ।
रोग फैलिन नदिन नियमित अनुगमन, प्राविधिक परामर्श र व्यवस्थापनका उपाय अपनाउन बुढाऐरले किसानलाई आग्रह गरेका छन्। समयमा रोग पहिचान गरी उपचार गरे बेर्नालाई थप क्षति हुनबाट जोगाउन सकिने उनले बताए। धानखेतीको मुख्य याम सुरु भइसकेका बेला बेर्नामा ढुसीजन्य सङ्क्रमण देखिएपछि किसान उत्पादन घट्ने चिन्तामा छन्।
