इलामको चुलाचुली गाउँपालिकाका इन्जिनियर डिल्लीराज खड्का ६ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा परेका छन्। पुलको रिडिजाइन स्वीकृत गराइदिएको र ठेक्का भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको टोलीले उनलाई पक्राउ गरेको हो।
इन्जिनियर खड्काविरुद्ध उजुरी परेपछि अख्तियारको टंगाल र इटहरी कार्यालयबाट खटिएको टोली इलाम पुगेको थियो। अनुसन्धानका क्रममा खड्काले सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा दमक नगरपालिका १ स्थित एक खाजा घरबाट नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। आयोगले यस विषयमा थप अनुसन्धान थालेको छ।
