गत आर्थिक वर्ष २०८२/८३ मा मधेस प्रदेशमा ८२१ उद्योग र एक हजार ११७ वाणिज्य व्यवसाय बन्द भएका छन्। विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानीको अभाव र पुँजीको कमीले उद्योग व्यवसाय बन्द हुने क्रम बढेको छ।
मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आवमा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी कूल एक हजार ९३८ उद्योग व्यवसायको लगत कट्टा भएको छ। यस अवधिमा मन्त्रालयमा कूल पाँच हजार ६८ वटा नयाँ उद्योग दर्ता भएका छन्।
पर्सामा एक हजार १०१, धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ वटा नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोले जानकारी दिए। गत आवमा सात हजार ५४० वटा उद्योगको नवीकरण पनि भएको छ।
वाणिज्यतर्फ प्राइभेट फर्म छ हजार १२२ र साझेदारी फर्म १८ नयाँ दर्ता भएका छन्। ११ हजार १४४ फर्मको नवीकरण भएको छ। नयाँ उद्योग तथा वाणिज्य दर्ता र नवीकरणबाट रु पाँच करोड २६ लाख ४९ हजार ५६२ राजस्व सङ्कलन भएको महतोले बताए।
