खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित भुलभुले दूधकुण्डमा धार्मिक मेला भरेर घर फर्कँदै गरेका भक्तजन चढेको ना५त ४५५५ नम्बरको ट्याक्टर सोही नगरपालिकाको वडा नं २ सोल्मास्थित छेपेखोलामा दुर्घटना भएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन्।
गुडिरहेको ट्याक्टरको पछाडिको भाग बीच सडकमा घोप्टिएर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी निराजन बस्नेतका अनुसार पाँच जनाको अवस्था गम्भीर छ।
‘दुर्घटनाका सबै घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल दिक्तेल ल्याएका छौँ। अहिलेसम्म कसैको पनि पहिचान खुलेको छैन’, बस्नेतले भने, ‘पाँच जनाको अवस्था गम्भीर छ। जिल्लामा उपचार सम्भव नभएपछि अस्पतालले २० जनालाई थप उपचारका लागि काठमाडौँ ‘रेफर’ गरिसकेको छ। घाइते १४ जनाको यही उपचार भइरहेको छ।’
अस्पतालले रेफर गरेका घाइतेलाई एम्बुलेन्स तथा सुमो जिप रिजर्भ गरेर उपचारमा पठाइएको दिक्तेल रुपाकोट मझुवागढीका उपप्रमुख विशन राईले जानकारी दिए।
‘दिउँसोदेखि जिल्लामा भीषण वर्षा भइरहेको छ। निरन्तरको वर्षाले उद्धारमा समेत समस्या भयो’, उनले भने, ‘निरन्तरको वर्षाका बाबजुद नगरपालिकाको एम्बुलेन्स तथा सुमो रिर्जभ गरेर घाइतेलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ।’
घाइतेको टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा गहिरो चोट लागेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन्। भक्तजन चढेको ट्याक्टर दुर्घटना दिउँसो २ बजेको समयमा भएको प्रत्यक्षदर्शीले बताएका छन्।
ट्याक्टर दुर्घटनालगत्तै चालक ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–७ का २३ वर्षीय रिनिमा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मध्यपहाडी लोकमार्गअन्तर्गत चखेवाभञ्ज्याङतर्फबाट दिक्तेल आउँदै गरेको खाली ट्याक्टर रोकेर भक्तजन चढेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।
