रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले कोशी प्रदेशका १४० नागरिक बेपत्ता बनाएको छ। प्रहरी नायब महानिरीक्षक (डिआइजी) शेखर खनालका अनुसार १५८ जना प्रभावितमध्ये १८ जना मात्र सम्पर्कमा आएका छन्।
सम्पर्कमा आएका १८ जनामध्ये २ जनाको उद्धार गरिएको छ। १ जना घाइते छन्। बाँकी १४० जनाको अवस्था अज्ञात छ। प्रहरीले अद्यावधिक विवरण आउने क्रम जारी रहेको जनाएको छ।
बाढीबाट सोलुखुम्बु जिल्लाका नागरिक सबैभन्दा बढी प्रभावित छन्। प्रदेश प्रहरीको तथ्यांकमा सोलुखुम्बुका ४१ जनामध्ये २ जना सम्पर्कमा आएका छन्। ३९ जनाको अवस्था अज्ञात छ। स्थानीय रेकर्डमा भने ४६ जना सम्पर्कविहीन छन्।
ओखलढुङ्गाका २१ मध्ये १९ जना, उदयपुरका १९ मध्ये १६ जना, सुनसरीका १७ मध्ये १३ जना, र मोरङका १६ जना नै सम्पर्कविहीन छन्।
बेपत्ता हुनेहरू अपर त्रिशूली–१, दोसाङ जलविद्युत् आयोजना, सुरुङमार्ग, होटल र मानसरोवर/तिब्बत जाने ट्रेकिङ टोलीमा कार्यरत थिए।
झापाका दिपक खरेल, घनश्याम भट्टराई, भक्तबहादुर राई, चुड्का टुडु, देवलाल मुर्मु सतार, केवलनाथ आचार्य, विनोद राई बेपत्ता छन्। इलामका नरेन्द्रप्रसाद दाहाल, लोकबहादुर थापा, दिवानन्द सुवेदी, बुद्धिसागर न्यौपाने, खिनमाया न्यौपाने, विनोद राई, विजय राई बेपत्ता छन्। इलामकी बेनु थेगिम सम्पर्कमा आएकी छन्।
ताप्लेजुङका भीष्म चापागाईं, पासाङ शेर्पा, ङिमा साँगे शेर्पा, पासाङ तेन्जी शेर्पा, दुर्गा भट्टराई वेपत्ता छन्। मोरङका शिवशंकर गुप्ता, रामभक्त नेवार, सुरजकुमार मण्डल, मेघा लिम्बू, सोना लिम्बू, देवीमाया तामाङ, पासाङ तामाङ, पुजा आचार्य नेपाल, सिवान्स आचार्य (३ वर्ष), रिचा निरौला, सचिन गौतम, दुर्गाप्रसाद पोखरेल, सूर्यबहादुर कार्की र भोजराज अधिकारी बेपत्ता छन्।
सुनसरीका सचिन गौतम, मुकेश नेपाल, धिरज साह, श्यामनारायण साह, मिना बजगाई, छविकेशर काफ्ले, मणिकरण राई, प्रभाकर दंगाल, पुष्पराज भट्टराई, दिनेशकुमार चौधरी, भुवनबहादुर श्रेष्ठ, रुबिना कुमारी थामी, अम्बरकाजी खड्का, मनकुमारी खड्का र जीवन सिंह वेपत्ता छन्। सुनसरीका नवराज ढकाल र देवानन्द यादव सम्पर्कमा आइसकेका छन्।
ओखलढुङ्गाका गेली शेर्पा, छोटी शेर्पा, सोनाम टासी शेर्पा, संगम श्रेष्ठ, देवराज सुनुवार, मिलन बेडारी, रमेश खत्री, पेम्जाङ्बु शेर्पा, मेचनकुमार मगर, खेमबहादुर राउत र सुभद्रा न्यौपाने सम्पर्कबिहीन छन्। अबिस्वर सुनुवार सम्पर्कमा आएका छन्।
उदयपुरका भेषराज माझी, मिलन माझी, चन्द्रबहादुर माझी, बुद्धिमान नेपाली, सुमन समीर राई, देवेन्द्र घिमिरे, ध्रुव बस्नेत, अरुण मगर, बालकुमार राई र करण विक सम्पर्कबिहीन छन्। भोलाराज कार्की, सुमन तामाङ र जीवन तामाङ सम्पर्कमा आइसकेका छन्।
सोलुखुम्बुको नेचासल्यान, सोलुदुधकुण्ड, थुलुङ दुधकोशी, माप्य दुधकोशी, सोताङ, महाकुलुङ र लिखुपिकेका ४० भन्दा बढी व्यक्ति सम्पर्कविहीन छन्। दोर्जी शेर्पा तिब्बत पुगेपछि परिवारको सम्पर्कमा आएका छन्।
धनकुटाका विपन घिसिङ (स्कार्पियो चालक), संखुवासभाका ईश्वरीप्रसाद दाहाल, राधा थापामगर र आरुष ठाडामगर (५ वर्ष), भोजपुरका गोबिन्द राई तथा खोटाङका तारानाथ थापा, सुरजबहादुर दर्जीसहित ८ जना सम्पर्कविहीन छन्।
कोशी प्रदेश प्रहरी कार्यालयले खोजी कार्यलाई तीव्रता दिन स्थानीय प्रशासन, सेना, प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरिरहेको छ। सम्पर्कमा नआएका व्यक्तिको सूचना नजिकैको प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा गराउन आग्रह गरिएको छ।
