भोटेकोशी बाढी: राहत सामग्री वितरणमा समन्वयको खाँचो
भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ। बाढी प्रभावित नागरिकलाई खाद्यान्न, स्वच्छ खानेपानी, औषधि र लत्ताकपडालगायत अत्यावश्यक सामग्री शीघ्र पुर्याउन सम्बन्धित निकायबीच प्रभावकारी समन्वयको खाँचो छ।
मन्त्री चौधरीद्वारा सांसदसँग राहत सामग्रीबारे छलफल
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्घीय सांसदहरूसँगको छलफलमा बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तत्काल उपलब्ध गराउने विषयमा जोड दिइन्। मन्त्री चौधरीको सचिवालयका अनुसार उनले प्रभावित नागरिकको आवश्यकता पहिचान गरी राहत सामग्रीको आपूर्ति तथा वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक कार्ययोजना अघि बढाउने बताइन्। सरकारी निकाय, स्थानीय तह र सम्बन्धित पक्षबीच समन्वय गरी तत्काल सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको थियो।
बाढी प्रभावित जिल्लामा इन्धन आपूर्ति प्राथमिकतामा
नेपाल आयल निगमका अनुसार खोज तथा उद्धार कार्यमा संलग्न हेलिकप्टरका लागि नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकबाट रिफ्यूलिङ सेवाको प्रबन्ध मिलाइएको छ। बुधबार १२ हजार लिटर, बिहीबार ९ हजार लिटर, शुक्रबार ९ हजार लिटर र शनिबार १३ हजार लिटर हवाई इन्धन पुर्याइएको छ। हालसम्म ४० हजार ८४० लिटर हवाई इन्धन सो ब्यारेकमा पुर्याइएको छ।
पेट्रोल पम्पमा ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल
उद्धार कार्यको सहजीकरणका लागि बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा सञ्चालनमा रहेका पेट्रोल पम्पमा ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको छ। सार्वजनिक बिदाका दिनमा समेत इन्धन आपूर्ति नियमित गरिएको निगमले जनाएको छ।
बाढी पीडितलाई एलपी ग्यास आपूर्ति
प्रभावित क्षेत्रका विभिन्न स्थानमा सेल्टरमा रहेका बाढी प्रभावित व्यक्तिका लागि आवश्यक एलपी ग्यासको आपूर्तिमा पनि जोड दिइएको छ। नेपाल ग्यास उद्योग प्रालिबाट नुवाकोटमा २३२ थान र नुवाकोट र रसुवामा थप १५० थान ग्यास सिलिण्डर पठाइएको निगमले जनाएको छ।
