परराष्ट्रमन्त्री शिशिर खनाल र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच रसुवा–केरुङ नाका क्षेत्रमा आएको विनाशकारी बाढीबारे शनिबार टेलिफोन वार्ता भयो। बाढीले नेपाल र चीन दुवैतर्फ पुर्याएको जनधनको क्षतिप्रति दुवै नेताले गहिरो दुःख व्यक्त गरे।
वार्तामा मृतकहरूप्रति श्रद्धाञ्जली र प्रभावित परिवारप्रति समवेदना व्यक्त गरियो। सीमापार भोटेकोशीमा आएको आकस्मिक बाढीबाट भएको मानवीय क्षति र विनाशप्रति दुवै पक्षले गहिरो दुःख व्यक्त गरे।
जारी खोजी, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता दुवै नेताले जनाए। वास्तविक समयको जलविज्ञानसम्बन्धी तथ्यांक आदानप्रदान बढाउने सहमति पनि भयो।
परराष्ट्रमन्त्री खनालले नेपालतर्फको उद्धार प्रयासमा चीनले गरेको सहयोगप्रति हार्दिक धन्यवाद व्यक्त गरे। चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा पुगेर उद्धार कार्यमा खटिसकेको छ।
