बाढीपहिरोका कारण आठ जिल्लामा फेला परेका ६६९ शवको व्यवस्थापनका लागि प्रहरीले १० बुँदे विशेष वैज्ञानिक कार्यविधि कार्यान्वयनमा ल्याएको छ। सड्न थालेका शवबाट महामारी फैलने जोखिम रोक्न र भविष्यमा आफन्तले सहजै पहिचान गर्न सकून् भन्ने उद्देश्यले डीएनए, फोटो र जीपीएस लोकेसनसहितको ‘डिजिटल अभिलेख’ राखेर शव गाडिने भएको छ।
प्रहरीको पछिल्लो तथ्यांकअनुसार रसुवामा १३, नुवाकोटमा ४१, धादिङमा ४९, चितवनमा २४८, गोरखामा ५४, तनहुँमा ३१, नवलपरासी (पूर्व) मा १५८ र नवलपरासी (पश्चिम) मा ७५ जनाको शव फेला परिसकेको छ। अस्पतालका शवगृह भरिएपछि र सङ्क्रमणको उच्च जोखिम देखिएपछि ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार जिल्ला सुरक्षा समितिहरूको निर्णयमा यो व्यवस्थापन सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले शव व्यवस्थापन गर्दा कुनै पनि व्यक्तिको पहिचान सधैँका लागि नहराओस् भन्नेमा विशेष सतर्कता अपनाएको छ। फेला परेका शवलाई ‘डेड बडी ब्याग’ मा राखेर अस्पताल पुर्याएपछि फोरेन्सिक चिकित्सकको उपस्थितिमा चारैतिरबाट फोटो खिच्ने, हुलिया र पहिचान चिन्ह अभिलेख गर्ने तथा पोस्टमार्टम गर्ने काम गरिन्छ।
पहिचान खुल्न नसकेका शवलाई छुट्टाछुट्टै संकेत/कोड नम्बर प्रदान गरिनेछ। शवलाई जमिनमुनि गाड्दा उक्त कोड जमिनमुनि र जमिनमाथिको ढलान स्तम्भ दुवै स्थानमा राखिनेछ। यसका साथै, सो स्थानको जीपीएस लोकेसन, नक्सा र भिडियोसहितको विस्तृत विवरण प्रहरीको केन्द्रीय अभिलेखमा सुरक्षित रहनेछ।
प्रत्येक बेवारिसे शवको अन्त्येष्टिअघि डीएनए नमुना सुरक्षित संकलन गरिएको छ। भविष्यमा कुनै परिवारले आफ्ना बेपत्ता सदस्यको खोजी गर्दै डीएनए नमुना दिएमा, वैज्ञानिक परीक्षणबाट पुष्टि हुनासाथ सोही कोड र जीपीएसका आधारमा शव निकालेर स-सम्मान परिवारको जिम्मा लगाइनेछ।
सर्वसाधारणको सहजताका लागि प्रहरीले हेल्पडेस्कमार्फत शवका फोटो, कपडा र हुलिया प्रदर्शन गरिरहेको छ। पहिचान नखुलेका शवहरूको अद्यावधिक विवरण नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा रहेको ‘पहिचान नखुलेको शवहरूको विवरण’ आइकनमा गएर जो–कोहीले हेर्न सक्ने व्यवस्था मिलाइएको छ।
