NM Khabar 12 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सप्तरीको सडक पेटीमा सुत्केरी: स्वास्थ्य सेवाको पहुँचमा राज्यको संवेदनहीनतामाथि प्रश्न

सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा रकम अभावले सडक पेटीमा सुत्केरी गराइएको घटनाले स्वास्थ्य सेवाको पहुँचमा राज्यको संवेदनहीनता उजागर गरेको छ। प्रतिनिधिसभामा सांसदहरूले सरकारको आलोचना गर्दै दोषीमाथि कारबाही र भविष्यमा यस्ता घटना नदोहोरिने सुनिश्चित गर्न माग गरेका छन्। स्वास्थ्य मन्त्रीले घटनालाई गम्भीरतापूर्वक लिएको र मन्त्रालयले अस्पतालसँग स्पष्टीकरण मागेको तथा छानबिन समिति गठन गरिसकेको बताएकी छन्।
Kamala Devi
Kamala Devi
11 September 2026, 8:03 pm १ मिनेट पढाइ
आकार:
स्वास्थ्य सेवाको पहुँच
Share:

सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल बाहिर सडक पेटीमा बबिता पासवानले शिशु जन्माएको घटनाले सुरक्षित मातृत्व नीति र व्यवहारबीचको खाडललाई सतहमा ल्याएको छ। प्रतिनिधिसभा बैठकमा सांसदहरूले पैसा नभएकै कारण अस्पतालले फर्काएपछि बबिताले सडक पेटीमा शिशु जन्माउनुपरेको भन्दै सरकारको आलोचना गरे।

शुक्रबारको बैठकमा सांसदहरूले राजविराज घटनालाई अमानवीय र राज्यको संवेदनहीनताको उदाहरण माने। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले उक्त घटनाले सरकारको मातृत्व सेवा र स्वास्थ्य प्रणालीको ‘रिपोर्ड कार्ड’ सार्वजनिक गरेको टिप्पणी गरिन्। उनले संविधानप्रदत्त सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्यको हक स्मरण गराउँदै कागजमा लेखिएको निःशुल्क सेवा र नागरिकले पाउने व्यवहारिक सेवाबीचको दूरीमाथि प्रश्न उठाइन्।

सांसद कार्कीले राज्यको सेवा बबितासम्म पुग्न नसकेको भन्दै सरकारको आलोचना गरिन्। उनले बबिताजस्ता हरेक गर्भवती महिलासम्म राज्य पुग्नुपर्नेमा जोड दिइन्। कार्कीले राजविराज घटनाको छानबिन दोषीमाथि कारबाहीमा मात्र सीमित नराखी भविष्यमा यस्ता घटना नदोहोरिने समाधानका उपाय खोज्न आग्रह गरिन्।

प्रतिपक्षी सांसद युवराज दुलालले सरकार जिम्मेवार र जवाफदेही बन्नुपर्ने बताए। नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले अस्पतालको पेटीमा जन्मिएको नयाँ जीवन सरकारको गैरजिम्मेवारीपनको उदाहरण भएको बताइन्। नेपाली कांग्रेसकी सांसद गीता गुरुङले आर्थिक अभावमा महिलाले सडकमा बच्चा जन्माउनुपर्ने अवस्था लज्जास्पद भएको टिप्पणी गरिन्।

सांसद गुरुङले प्रधानमन्त्री बालेन शाहको नियतमा शंका नगरे पनि अपेक्षित परिणाम नआएको बताइन्। राप्रपाकी सांसद खुश्बु ओलीले प्रधानमन्त्री शाहले चुनाव प्रचारमा दिएको ‘गोजीमा पैसा नहुनेले उपचार पाउनुपर्छ’ भन्ने नारा कार्यान्वयनमा राज्य र स्वास्थ्य मन्त्रालयको भूमिकामाथि प्रश्न गरिन्। ओलीले गरिब भएर जन्मिनु यो देशमा अपराध हो कि होइन भन्ने प्रश्न खडा भएको बताइन्।

रास्वपा सांसद गणेश कार्कीले राजविराज घटना दोहोरिन नदिन राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराए। नेकपाका सांसद गणेशबहादुर विश्वकर्माले सात सय रुपैयाँ तिर्न नसकेर बबिता अस्पताल बाहिर सुत्केरी हुन बाध्य भएको बताए। उनले अस्पतालका कर्मचारीबाट दुव्र्यवहार खेप्नुपरेको भन्दै दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्ति माग गरे।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले घटनालाई गम्भीरतापूर्वक लिएको बताइन्। मन्त्रालयले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण मागेको र नेपाल मेडिकल काउन्सिल तथा जिल्ला प्रशासन कार्यालयबाट छानबिन समिति गठन भइसकेको जानकारी दिइन्। घटनाका बखत ड्युटीमा रहेका कर्मचारीहरूलाई कामबाट हटाइएको छ।

अस्पतालको प्रारम्भिक विवरणअनुसार, बबिताकुमारी पासवान प्रसवको अवस्थामा अस्पताल पुगेकी थिइन्। स्वास्थ्य परीक्षणपछि प्रसूति वार्डमा भर्ना गरिए पनि आवश्यक जाँचसम्बन्धी रिपोर्ट उपलब्ध नभएको कारणले उनी र कुरुवा अस्पतालबाट बाहिरिएका थिए। बिहान करिब ४:४५ बजे अस्पतालको मूल गेट बाहिर प्रसूति भएको अस्पतालको प्रारम्भिक विवरणमा उल्लेख छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार