ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले असोज ९ देखि ११ गतेसम्म हुने अति भारी वर्षाबाट उत्पन्न हुन सक्ने विपद्को पूर्वतयारी र पूर्वसूचनामा एकीकृत रूपमा जुट्न निर्देशन दिएका छन्। मंगलबार गृहमन्त्री सुधन गुरुङसहित जल तथा मौसम विज्ञान विभागको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले मौसम विभागका अधिकारीहरूलाई पूर्वतयारी र पूर्वसूचनामा उच्च समन्वयका साथ काम गर्न जोड दिए।
उनले गृहमन्त्री मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा पूर्वतयारी र पूर्वसूचनामा विशेष ध्यान दिनुपर्ने बताए। ‘प्रभावित क्षेत्रमा अहिले नै सूचना सर्कुलेट गर्नुस्। तपाईंहरू एकदम अलर्ट भएर वेल कोर्डिनेट भएर लाग्नुस्,’ मन्त्री श्रेष्ठले निर्देशन दिँदै भने, ‘कुन क्षेत्र कसरी प्रभावित हुन्छ भन्ने समन्वय गरेर विपद् प्राधिकरणमार्फत पूर्वतयारी जुट्नुपर्नेछ।’
यसपटक सरकारले पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई विशेष जोड दिएको बताउँदै मन्त्री श्रेष्ठले कृषि, पर्यटन, यातायातलगायत सबै क्षेत्रलाई सतर्कता अपनाउन आह्वान गरे। ‘सरकारको तर्फबाट अनुरोध गर्छु कि यात्रा गर्दा सुसूचित भएर गर्नुस्। चाँडबाँडको बेला छ। कहिँ पनि यात्रा गर्नुअघि जानकारी लिएर गर्नुस्,’ उनले भने।
मन्त्री श्रेष्ठले सम्भावित क्षेत्रमा पूर्वतयारीका लागि उद्धारकर्मी र सुरक्षाकर्मी तयारी अवस्थामा रहेको जानकारी दिए। रसुवाको भोटेकोशी बाढीबाट पाठ सिकेर यसपालि पूर्वतयारीलाई विशेष ख्याल गरिएको उनको भनाइ थियो। ‘मलाई अलिकति चिन्ता के छ भने जुन अस्ति ऊर्जाको हाइड्रोमा जुन खालको क्षति त्यहाँ व्यहोर्यौं, यो पालि त्यस्तो खालको हुन्छ कि ? तर राम्रो के भएको छ भन्दा यही जल तथा मौसम विज्ञान विभागमा निजी क्षेत्रका र विद्युत् प्राधिकरणका मान्छेलाई पनि सूचना प्रवाह गर्ने प्रणाली छ,’ उनले भने।
विपद् प्राधिकरणसँग तीनै तहको सरकारको बलियो समन्वय हुनुपर्नेमा जोड दिँदै उनले भने, ‘विपद् प्राधिकरणले जिल्ला विपद् र स्थानीय तहसँग कोअर्डिनेट गर्यो भने अझै राम्रो हुन्छ। प्रदेश सरकारसँग पनि गर्नुपर्छ। सूचनाहरूलाई राम्रोसँग फ्लो गरिदिनुस्।’
मन्त्री श्रेष्ठले भोटेकोशी बाढीबाट पाठ सिकेर असोज ९ देखि ११ गतेसम्मको अवधिमा सुसूचित भइदिन, आफ्ना प्रियजनलाई सतर्क गरिदिन तथा विपद् प्राधिकरणबाट जारी हुने सर्कुलेसन पालना गर्न अपिल गरे।
यसैबीच, गृहमन्त्री सुधन गुरुङले सरकार आवश्यक पूर्वतयारीमा जुटिसकेको बताए। ‘नदी तटीय क्षेत्रमा टीम मोबिलाइजेसनदेखि नागरिकलाई अलर्ट गराउने हिसाबले हामी प्लानिङमा छौं,’ उनले भने, ‘तयारीका लागि २ दिन बाँकी रहेको र सबै अलर्ट हुनुपर्ने उनको भनाइ थियो।’ मन्त्री गुरुङले सुरक्षा निकायलाई अलर्ट गरिएको, उद्धार सामग्री तयारी अवस्थामा राखिएको, स्थानीय सरकारमार्फत पूर्वसूचना प्रणालीलाई प्रवाह गरिएको बताए। उनले अब ट्रेकिङमा नजान र गएकाहरूलाई सुरक्षित ठाउँमा जान अनुरोध पनि गरे।
जल तथा मौसम विज्ञान विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठ लगायतले मन्त्रीद्वयलाई पश्चिमी न्यून चापीय प्रणालीले गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपणबारे ब्रिफिङ गरेका थिए। जोखिमयुक्त स्थानमा उच्च सतर्कता अपनाउनुपर्ने अवस्था रहेको उनीहरूले उल्लेख गरेका थिए।
