झापामा सवारी दुर्घटना साउनको तुलनामा भदौमा दोब्बरले बढेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार साउनमा ३९ दुर्घटना भएकामा भदौमा ८८ पुगेको हो। दुर्घटनामा साउनमा १२ जनाको मृत्यु भएकामा भदौमा चार जनाले ज्यान गुमाए।
साउनमा ४० जना घाइते भएकामा भदौमा यो सङ्ख्या १३५ पुगेको प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए। प्रहरी तथ्याङ्कले दुवै महिनामा दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखाएको छ। साउनका ३९ दुर्घटनामध्ये ३० र भदौका ८८ मध्ये ७८ चालकको हेलचेक्र्याइँले भएका थिए।
यात्रुको हेलचेक्र्याइँ, सडकको अवस्था, सवारीसाधन र चौपायाका कारणले पनि दुर्घटनामा वृद्धि भएको पाइएको छ।
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले भदौमा ९५६ सवारी जाँच गर्दा २,२३२ सवारी कारबाहीमा परे। यसबाट रु २३ लाख सात हजार राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।
