न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा सुरु भएको ८१औं महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहसमा परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको छ। यसपटकको महासभा ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापन: सबैको लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने मूल नाराका साथ अघि बढेको छ।
बहसको पहिलो दिन मंगलबार नेपाली टोलीले सहभागिता जनाएको थियो। विश्वभरका राष्ट्र तथा सरकार प्रमुखहरूले युद्ध, आणविक हतियारको सन्त्रास, गरिबी र जलवायु सङ्कटले निम्त्याएको मानवीय एवं पूर्वाधार क्षतिका विषयमा धारणा राखिरहेका छन्।
प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापा, भ्रमण दलका सदस्यहरू र नियोगका कूटनीतिक कर्मचारीहरूको उपस्थिति थियो।
प्रधानमन्त्री बालेन्द्र शाहले आगामी बिहीबार अपराह्न यस उच्चस्तरीय राजनीतिक बहसलाई सम्बोधन गर्ने कार्यतालिका छ।
नेपाली प्रतिनिधिमण्डलले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको असर, जलवायु न्याय र हानी तथा नोक्सानी कोष कार्यान्वयनको विषयलाई प्रमुख प्राथमिकताका साथ उठाउनेछ। यसका अतिरिक्त विश्व शान्ति, असंलग्नता, दिगो विकास लक्ष्य, लैङ्गिक सहभागिता र समावेशिताका पक्षमा नेपालले विश्व मञ्चमा आफ्नो अडान प्रस्तुत गर्नेछ।
