अपडेट (20:56, 2026-10-05)
गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालमाथि लागेको संवेदनशील सूचना चुहावटको आरोपबारे छानबिन गर्न एआईजी अञ्जनीकुमार पोखरेललाई जाँचबुझ अधिकृत तोकेको छ। पोखरेललाई तीन दिनभित्र छानबिन प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ।
स्रोतका अनुसार, दाहालमाथि पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सुरक्षासम्बन्धी सूचना आदानप्रदान गरेको आरोप लागेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई पक्राउ गरेको राति नै एआईजी दाहाल उनलाई भेट्न पुगेको स्रोतले जनाएको छ।
दाहालको पदावधि २०८३ असोज २८ गते सकिँदैछ। निलम्बनको यो कारबाहीले उनको थप पदावधि पाउने सम्भावनालाई प्रभावित गरेको गृह मन्त्रालयले बताएको छ।
सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्।
गृह मन्त्रालयले २०८३ असोज १९ गते सोमबार सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको आरोपमा उनलाई निलम्बन गरेको हो। दाहालमाथि पदीय आचरणविपरीत काम गरेको गम्भीर आरोप लागेको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिमा दाहाललाई कारबाहीका लागि सशस्त्र प्रहरी बल, नेपालबाट सिफारिस प्राप्त भएपछि जाँचबुझ गर्न निलम्बन गरिएको जनाइएको छ। मन्त्रालयले दाहाललाई निलम्बन गरी तीन दिनभित्र जाँचबुझ सम्पन्न गरेर प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृतसमेत तोकेको छ।
मन्त्रालयले निजामती प्रशासन तथा सुरक्षा निकायका कर्मचारीले प्रचलित कानुनमा व्यवस्था भएअनुसार पदीय आचरण पालना गर्नुपर्ने स्पष्ट पारेको छ। सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुका साथै सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको पनि मन्त्रालयले जनाएको छ।
गृह मन्त्रालय मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील तथा गोप्य सूचनाको चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको मन्त्रालयले बताएको छ। कानुन विपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता पनि मन्त्रालयले व्यक्त गरेको छ।
कुन संवेदनशील सूचना चुहावट भएको थियो, कसलाई गरिएको थियो र पदीय आचरणविपरीतको कार्यको सटीक प्रकृति के थियो भन्नेबारे विस्तृत जानकारी अझै सार्वजनिक भएको छैन। जाँचबुझ प्रतिवेदनपछि मात्र थप तथ्य खुल्नेछ।
