काठमाडौँ । बीमा प्राधिकरणले बीमा निर्देशिकामा व्यवस्था गरिएका नियमहरूको पालना नगरेको भन्दै दुई बीमा कम्पनीलाई कारबाही गरेको छ। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड र लर्ड बुद्ध रि-इन्स्योरेन्स ब्रोकिङ कम्पनी लिमिटेडलाई प्राधिकरणले जरिवाना तिराएको छ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सलाई ‘सम्पत्ति बीमा निर्देशन २०८०’ को दफा २५(२) को व्यवस्था पालना नगरेको आरोपमा कारबाही गरिएको हो। उक्त व्यवस्था अनुसार बीमा कम्पनीहरूले जारी गर्ने बीमालेखको बीमा शुल्कमा कुनै पनि प्रकारको छुट, सहुलियत वा कटौती दिन पाइँदैन। कम्पनीले उक्त व्यवस्था विपरीत कार्य गरेको पाइएपछि प्राधिकरणले बीमा ऐन २०७९ को दफा १३८ को उपदफा (४) खण्ड (क) बमोजिम २ लाख रुपैयाँ जरिवाना लगाएको छ।
यसैगरी, लर्ड बुद्ध रि-इन्स्योरेन्स ब्रोकिङ कम्पनीलाई ‘पुनर्बीमा दलालसम्बन्धी निर्देशिका, २०७८’ को दफा १५ को उपदफा (१) र (२) को व्यवस्था पालना नगरेको भन्दै कारबाही गरिएको छ। यस कम्पनीलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको प्राधिकरणले जनाएको छ।
