राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेबमोजिम सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन यही वैशाख २८ गते सोमबार दिउँसो २ः०० बजे सिंहदरबारमा सुरु हुँदैछ। यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुनेछ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दिएको जानकारीअनुसार, सङ्घीय संसद्को नयाँ भवन निर्माण सम्पन्न नभएकाले यस पटक पनि प्रतिनिधिसभाको बैठक निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय कक्षमा बस्नेछ। यद्यपि, ठेकेदार कम्पनीले आगामी जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधिसभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको छ। संसद् सचिवालयले पनि व्यवस्थितरुपमा नयाँ कक्षबाट बजेट प्रस्तुत गर्न पाइयोस् भन्ने अपेक्षा गरेको छ।
हाल निर्माणाधीन प्रतिनिधिसभा कक्षमा रङरोगन, आन्तरिक सजावट तथा नवीनतम् उपकरण जडानलगायत प्राविधिक काम भइरहेको छ। राष्ट्रियसभाको बैठक भने यसअघिकै संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा सञ्चालन हुनेछ।
जेठ १५ सम्म नयाँ प्रतिनिधिसभा कक्ष तयार हुने
यस अधिवेशनमा प्रि–बजेट छलफल, सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ। अधिवेशनका क्रममा आकस्मिक, शून्य र विशेष समय तथा प्रश्नोत्तर समयमा सदस्यहरुले समसामयिक विषयमा छलफल गर्नेछन्।
अधिवेशनका क्रममा पछिल्लो समय जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सभामा पेस भई अघि बढाइनेछ। सामान्यतया, यसबीचमा जारी भएका अध्यादेश संसद्को पहिलो बैठकमा प्रस्तुत हुनेछन् र पहिलो बैठक बसेको मितिले ६० दिनभित्र ती अध्यादेशको छिनोफानो हुनुपर्छ। अन्यथा, अध्यादेश स्वतः निस्क्रिय हुनेछन्।
प्रतिनिधिसभामा हाल राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त तीन विधेयक छन्। वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता छ। राष्ट्रियसभामा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ विधेयक रहेको छ। त्यस्तै, विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन र नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि प्रतिनिधिसभामा थाँती छन्।
आगामी जेठ १५ गतेसम्म नयाँ प्रतिनिधिसभा कक्ष तयार भएपछि बजेट प्रस्तुतिका लागि संसद्लाई सहज हुने अपेक्षा गरिएको छ।
