NM Khabar 9 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बाराको परवानीपुरमा बर्डफ्लुले ५० लाखको क्षति: कुखुरादेखि टर्कीसम्म नष्ट

बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रममा बर्डफ्लुको संक्रमणले करिब ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। चैतको अन्तिम साता देखिएको बर्डफ्लुका कारण अनुसन्धानका लागि पालिएका कुखुरा, टर्की, तित्रा, बट्टाईसहित आधा दर्जन प्रजातिका पन्छी र तिनको आहार नष्ट गर्नुपरेको हो।
Kamala Devi
Kamala Devi
9 May 2026, 11:32 am १ मिनेट पढाइ
आकार:
Share:

बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रममा गत चैतको अन्तिम साता बर्डफ्लुको संक्रमण पुष्टि भएपछि अनुसन्धानका लागि पालिएका आधा दर्जन प्रजातिका पन्छी र तिनको आहार नष्ट गर्दा करिब रु ५० लाख बराबरको नोक्सानी भएको छ।

राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रम परवानीपुरका सूचना अधिकारी खमबहादुर प्रजाले चैतको अन्तिम साता टर्की जातको पन्छीमा बर्डफ्लु देखिएपछि फार्ममा पालिएका अन्य प्रजातिका पन्छीमा पनि संक्रमण फैलिएको जानकारी दिए। उनले भने, “टर्की जातको पन्छीमा बर्डफ्लु देखिएपछि एकपछि अर्को गर्दै फार्ममा पालिएका अन्य प्रजातिका पन्छीमा बर्डफ्लु देखिएपछि सबै नष्ट गर्नुपरेको हो। सम्पूर्ण प्रक्रिया पूरा गरेर यहाँ पाल्दै आएका पन्छीहरू, अण्डा र दानाहरूको समेत नष्ट गरेका छौँ।” यसरी करिब ४५ देखि ५० लाख रुपैयाँ बराबरको क्षति व्यहोर्नुपरेको प्रजाले पुष्टि गरे।

बर्डफ्लुका कारण कार्यक्रममा पालिएका करिब दुई हजार कुखुराका चल्ला, करिब १२ सयको हाराहारीमा गिरीराजलगायत कुखुराका प्रजाति, ३३ वटा तित्रा, ४७ वटा सेतो/कालो टर्की र करिब ४५० वटा बट्टाई नष्ट गरिएको कार्यालयले जनाएको छ। पन्छीसँगै एल वान दाना ८३५ किलोग्राम, एल टु दाना ४५५ किलोग्राम र एल थ्रि एक हजार ८३५ किलोग्राम दाना पनि नष्ट गरिएको छ।

सूचना अधिकारी प्रजाले बर्डफ्लु देखिएको फार्ममा अहिले चुना छर्किने, मल पुर्ने, आगोको तापले पोल्नेलगायतका निर्मलीकरणका काम भइरहेको बताए। उनले राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत पोखरा र नेपालगञ्जमा रहेका कार्यालयबाट आवश्यक पर्ने पन्छी तथा अण्डाहरू ल्याएर फेरि पुन: सञ्चालन गर्ने तयारीमा जुटिसकेको जानकारी दिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

Nmkhabar की मधेश प्रदेश संवाददाता। तराई क्षेत्रका राजनीतिक, कृषि र सामाजिक विषयमा जमिनी स्तरबाट रिपोर्टिङ गर्छिन्।

सम्बन्धित समाचार