मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को संसदीय दलले वर्तमान सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।
नीति तथा कार्यक्रम र बजेट निर्माणको समयमा गठबन्धन भत्काउनु उपयुक्त नहुने निष्कर्ष जसपा नेपाल मधेस प्रदेश सभा संसदीय दलको बैठकले निकालेको हो।
हाल कांग्रेसका कृष्ण यादवको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारबाट जनमत पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले जेठ १ गते विश्वासको मत लिने तयारी गरेका छन्।
जसपा नेपालको समर्थन कायम रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत पाउन कठिन नहुने देखिएको छ। यद्यपि, पार्टीको औपचारिक निर्णय सार्वजनिक हुन बाँकी छ।
पार्टीको एकता प्रक्रिया टुंगिएपछि जसपा नेपाल मधेस प्रदेशमा सबैभन्दा ठूलो दल बनेको छ। यस हैसियतमा जसपाले सरकारको नेतृत्वमा दाबी गर्न सक्ने बताइएको छ।
यसै सन्दर्भमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संरक्षक महन्थ ठाकुर जनकपुर पुगेका छन्। उनीहरूले गठबन्धनका दलहरूसँग छलफल गरी सहमतिको प्रयास गर्ने नेताहरूको भनाइ छ।
यता, जनमत पार्टीले जसपा नेपालले आफूलाई धोका दिएको आरोप लगाएको छ। जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिए पनि जसपा नहटेपछि आफूहरू ‘यता न उता’को अवस्थामा पुगेको जनमतका एक पदाधिकारीले बताएका छन्।
जनमत पार्टीले जसपाको सल्लाहमा नै समर्थन फिर्ता लिएको दाबी गरे पनि, जसपाले वर्तमान गठबन्धनलाई निरन्तरता दिने लाइनमा गएको छ। जनमतका दुई मन्त्री अझै सरकारमै छन्।
स्रोतका अनुसार, जसपा नेपालको यो निर्णय अध्यक्ष उपेन्द्र यादव, कांग्रेस सभापति गगन थापा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलपछि आएको हो।
