सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा वैशाख २१ गते उद्घाटन गरिएको सिटी स्क्यान सेवा जनशक्ति अभावका कारण अझै सञ्चालन हुन सकेको छैन।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहताले मेसिन उपलब्ध हुँदा पनि सेवा दिन नसक्दा नागरिकले सस्तो र सुलभ विशेषज्ञ सेवाबाट वञ्चित भएको बताए।
अस्पताल प्रशासनका अनुसार यो सेवा पूर्ण रूपमा सञ्चालन गर्न कम्तीमा एक जना रेडियोलोजिस्ट, एक जना रेडियो प्राविधिक र एक जना सहयोगी गरी तत्काल तीन जना कर्मचारीको आवश्यकता छ।
हालै (जेठ २४ गते) कार्यभार सम्हालेकी अस्पताल प्रमुख डा वर्षा प्रकाशले जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारको विषयगत मन्त्रालयमा पहल भइरहेको जानकारी दिइन्।
डा. प्रकाशले आवश्यक जनशक्तिका लागि प्रदेश मन्त्रालयमा निरन्तर समन्वय गरिरहेको बताइन्। तर, रेडियोलोजिस्टको प्रदेशभरि नै अभाव रहेकाले कर्मचारी कहिले आउने टुङ्गो छैन।
मधेस प्रदेशमा कर्मचारी समायोजनबाट आएका एक्ला वरिष्ठ रेडियोलोजिस्ट डा. बृजेन्द्रकुमार साह यसअघि यही अस्पतालमा निमित्त मेसुका रूपमा कार्यरत थिए। प्रदेश सरकारले डा. साहकै विज्ञतालाई हेरेर लहानमा सिटी स्क्यान मेसिन पठाएको थियो।
तर, गत माघ २ गते मन्त्रालयले डा. साहलाई सर्लाहीको मलङ्गवास्थित प्रादेशिक अस्पतालमा सरुवा गरेपछि लहानमा सिटी स्क्यान सञ्चालनमा समस्या आएको हो।
मधेस प्रदेशका तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहको कार्यकालमा आर्थिक वर्ष २०८१/८२ मा रु १२ करोड लागतमा दुई वटा सिटी स्क्यान मेसिन खरिद गरिएको थियो।
तत्कालीन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका महानिर्देशक डा. सुनिलप्रसाद कुशवाहाले तीमध्ये एउटा मेसिन जनकपुरस्थित मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र अर्को लहान अस्पतालमा पठाइएको बताए।
