काठमाडौं उपत्यकाको चामलमा घातक विषादी भेटिएको मुद्दा दर्ता गर्न उपभोक्ता अदालतले आदेश दियो। अध्यक्ष डा. दिवाकर भट्ट, सदस्य गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको इजलासले बिहीबार आदेश दियो। यो आदेश उपभोक्ताको हकहितसँग जोडिएको फिरादपत्र दर्ता गर्न आएको हो।
यसअघि अदालतका स्रेस्तेदारले क्षेत्राधिकार नभएको भन्दै मुद्दा दर्ता गर्न अस्वीकार गरेका थिए। वरिष्ठ अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले गत साता फिरादपत्र पेस गरेका थिए। उपभोक्ता हित संरक्षण मञ्च नेपालका महासचिव तिमिल्सिनाले मुद्दा दायर गरेका हुन्। उनले चामल लगायत खाद्यान्नमा अत्यधिक विषादी प्रयोग रोक्न माग गरेका थिए। नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघसहितलाई विपक्षी बनाइएको छ।
अदालतले आफ्नो आदेशमा भन्यो, ‘मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने विषादीयुक्त प्रयोगलाई रोकी उपभोक्ताको बाँच्न पाउने, स्वस्थ वस्तु र सेवाको उपभोगलाई व्यवस्थित र सुनिश्चित गराउने समेतका विषयलाई लिई दायर हुन आएको प्रस्तुत फिरादपत्र यसै अदालतको अधिकार क्षेत्रभित्र पर्ने नै देखिँदा स्रेस्तेदारबाट भएको दरपीठ आदेश बदर गरिदिएको छ।’ अदालतले कानुनी प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ।
