अमेरिकाले भोटेकोशी बाढीपछिको पुनर्स्थापना कार्यका लागि थप तीन करोड १० लाख डलर (३१ मिलियन डलर) सहयोग गर्ने भएको छ। यसअघि घोषणा भएको सहयोगसँगै कुल सहयोग ३ करोड ६० लाख डलरभन्दा बढी पुगेको छ।
न्युयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबिच भएको भेटवार्तामा यो सहयोग घोषणा गरिएको हो। भेटमा नेपाल-अमेरिका सम्बन्ध, बाढीपछिको राहत र पुनर्निर्माणका विषयमा छलफल भएको थियो।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार, यस सहयोग अन्तर्गत एक करोड डलर पक्की पुल निर्माणमा खर्च गरिनेछ। यी पुलहरूले प्रभावित क्षेत्रमा यातायात पूर्वाधार पुनर्स्थापना र क्षेत्रीय सम्पर्क विस्तारमा मद्दत गर्नेछन्।
त्यस्तै, ८० लाख डलर प्रभावित समुदायका लागि खानेपानी, सरसफाइ, आवास, संरक्षण, जीविकोपार्जन र जाडोयामका लागि आवश्यक सहयोगमा उपलब्ध गराइनेछ।
भविष्यमा विपद्पछिको पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकी प्रविधिबाट निर्मित ड्रोनका लागि एक करोड ३० लाख डलर विनियोजन गरिएको छ।
