शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले मंगलबार बेलुका जारी गरेको सूचनामा यस्तो उल्लेख छ। सम्भावित जोखिमबारे सतर्क रहन आग्रह गरिएको छ।
महाशाखाको पछिल्लो पूर्वानुमानअनुसार बुधबार देशभर आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ।
बिहीबार वर्षाको गतिविधि थप बढ्ने अपेक्षा गरिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्नेछ।
शुक्रबार वर्षाको प्रभाव अझ बढ्ने पूर्वानुमान छ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ। शुक्रबार राति पनि देशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ।
उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा विकसित न्यून चापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू-भाग आसपासमा रहेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ भई पश्चिम-उत्तरपश्चिम दिशातिर सर्ने देखिएको छ। यसको प्रभावले बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने महाशाखाले जनाएको छ।
सम्भावित वर्षाका कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रमा डुबान हुन सक्ने महाशाखाले जनाएको छ। नदी, नाला र खोलामा पानीको सतह बढ्ने भएकाले दैनिक जनजीवन, कृषि, पर्यटन, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरिएको छ।
मौसम प्रणालीको प्रभावले हिमाली भू-भागमा भारीसम्म हिमपात हुन सक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। धानबाली भित्र्याउने समय भएकाले सम्बन्धित कृषि विज्ञको सल्लाहअनुसार काम गर्न पनि अनुरोध गरिएको छ।
