काठमाडौं । काठमाडौंको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। इन्द्रजात्राको सुरुआतसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवअगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएको छ।
लिंगो उठाएपछि जात्राका विभिन्न कार्यक्रम औपचारिक रूपमा अघि बढ्नेछन्। लिंगो ठड्याउने क्रममा परम्परागत बाजागाजाका साथ धार्मिक विधिअनुसार पूजा तथा अन्य संस्कार सम्पन्न गरिएको थियो।
इन्द्रजात्रा काठमाडौं उपत्यकाको नेवार समुदायको महत्त्वपूर्ण सांस्कृतिक पर्व हो। यस अवसरमा इन्द्र, भैरव, गणेश र कुमारीको पूजा तथा रथयात्रा गरिन्छ।
हनुमानढोका दरबार क्षेत्र आसपासमा विभिन्न देवीदेवताका मूर्ति तथा रथको दर्शन गर्न श्रद्धालु र सर्वसाधारणको भीड लाग्ने गर्छ। जात्राका क्रममा हनुमानढोकाबाट कुमारी, गणेश र भैरवको रथ निकालेर काठमाडौंका विभिन्न टोलमा परिक्रमा गराउने परम्परा छ।
जात्रामा लाखे नाच, पुलुकिसी नाचलगायत विभिन्न सांस्कृतिक प्रदर्शनसमेत हुने गर्छन्। इन्द्रजात्राको अवसरमा हनुमानढोका तथा आसपासका क्षेत्रमा विशेष चहलपहल बढेको छ। स्थानीयवासीसँगै स्वदेशी तथा विदेशी पर्यटकसमेत जात्राका विभिन्न गतिविधि अवलोकन गर्न बसन्तपुर क्षेत्रमा पुगेका छन्।
