अमेरिका र इरानबीच जारी तनाव अन्त्यको दिशामा अघि बढेको छ । दुई देशका अधिकारीहरू १४ बुँदे समझदारी पत्रमा सहमतिको नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी ४८ घण्टाभित्र युद्धविराम हुन सक्ने आशा व्यक्त गरेका छन् । ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले इरानसँगको वार्ता निकै सकारात्मक भएको र यसले ऐतिहासिक सम्झौताको ढोका खोलेको दाबी गरे ।
समझदारीका मुख्य बुँदाहरू
एक्सियोस र रोयटर्सका अनुसार तयार पारिएको १४ बुँदे मस्यौदामा युद्धविरामलाई पहिलो प्राथमिकतामा राखिएको छ । यस सहमतिपछि ३० दिनभित्र दुवै पक्ष पाकिस्तान वा जेनेभाजस्ता तटस्थ स्थानमा बसेर विस्तृत वार्तामा सहभागी हुनेछन् । इरानले आफ्नो आणविक कार्यक्रमलाई अस्थायी रूपमा निलम्बन गर्नुपर्ने सर्त राखिएको छ । यसको बदलामा अमेरिकाले रोक्का गरेको इरानको अर्बौं डलर बराबरको सम्पत्ति फुकुवा गर्ने र बिस्तारै प्रतिबन्धहरू खुकुलो पार्ने आश्वासन दिएको छ ।
आणविक कार्यक्रम र होर्मुज जलमार्गमा विवाद
यद्यपि, आणविक कार्यक्रम स्थगनको अवधिबारे मुख्य विवाद देखिएको छ । इरान ५ वर्षको समयसीमामा अडिग रहँदा अमेरिकाले २० वर्षको ग्यारेन्टी मागेको छ । हाल १२ देखि १५ वर्षको अवधिको मध्यमार्गी विकल्पमा छलफल केन्द्रित भएको स्रोतहरूले बताएका छन् । राष्ट्रपति ट्रम्पले इरानलाई आणविक हतियार राख्न नदिने अडान दोहोर्याउँदै सबैलाई जीवित राख्ने चाहेको बताए ।
कूटनीतिक वार्ता चलिरहँदा होर्मुज जलमार्गमा भने तनाव कम भएको छैन । अमेरिकाले ‘प्रोजेक्ट फ्रीडम’ अन्तर्गत युद्धपोत ‘युएसएस जर्ज एच.डब्ल्यू. बुश’लाई सोही क्षेत्रमा तैनाथ गरेको छ । ट्रम्पले यसलाई ‘स्टिलको पर्खाल’ को संज्ञा दिँदै इरानी जहाजहरूका लागि पार गर्न असम्भव रहेको दाबी गरेका छन् ।
तेहरानको फरक स्वर
ट्रम्प सम्झौताप्रति आशावादी देखिए पनि तेहरानको प्रतिक्रिया भने केही फरक छ । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बगाईले सम्झौता नजिक पुगेको खबरलाई अतिशयोक्तिपूर्ण भन्दै टिप्पणी गरेका छन् । इरानी सांसद इब्राहिम रेजाईले अमेरिकी प्रस्तावलाई ‘इच्छा सूची’ को संज्ञा दिँदै युद्धमा अमेरिकाले केही हासिल नगर्ने र छुट नदिए इरानको औंला ट्रिगरमै रहने चेतावनी दिएका छन् ।
चीन भ्रमणअघि सम्झौता टुंग्याउन चाहने ट्रम्पले वार्ता विफल भएमा अझ उच्च स्तरमा सैन्य हमला गर्ने चेतावनीसमेत दिएका छन् । यो संकटमा चीनको भूमिका पनि पेचिलो बनेको छ । चिनियाँ सरकारले आफ्ना कम्पनीलाई विदेशी प्रतिबन्ध पालना गरे कारबाही गर्ने नयाँ कानुन ल्याएर अमेरिकी प्रतिबन्धलाई चुनौती दिएको छ ।
विश्व बजारमा सकारात्मक प्रभाव
यसैबीच, अमेरिका-इरान वार्ताको खबरले विश्व बजारमा सकारात्मक प्रतिक्रिया देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आठ प्रतिशतले घटेर प्रतिब्यारेल १०० डलर नजिक पुगेको छ । विश्वभरका सेयर बजारमा पनि वृद्धि देखिएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीले तेहरान न्यायसंगत र व्यापक सम्झौताको पक्षमा रहेको बताएका छन् ।
पाकिस्तानले यस वार्तामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको छ । गत महिना पाकिस्तानमै शान्ति वार्ता आयोजना गरिएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा जहाज सुरक्षाका लागि सुरु गरिएको नौसैनिक अभियान ‘प्रोजेक्ट फ्रिडम’ लाई अस्थायी रूपमा रोकेका छन्, जसले वार्तामा भएको प्रगतिलाई संकेत गर्छ ।
