सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई पक्राउ गर्नुको कारण पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
सरकारविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका दाहाललाई गैरकानुनी थुनामा राखिएको भन्दै उनकी छोरी डेनिकाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरेकी थिइन्।
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै पक्राउको आधार र कारणसहित लिखित जवाफ पेश गर्न विपक्षीलाई आदेश दिएको छ।
मोरङको सलकपुरबाट आइतबार पक्राउ परेका दाहालमाथि अनुसन्धान अघि बढाउन प्रहरीको साइबर ब्युरोले अदालतबाट तीन दिनको म्याद लिइसकेको छ।
दाहाल २ असोजमा कोशी प्रदेशमा राजनीतिक छलफलमा सहभागी हुन गएका थिए। शनिबारको कार्यक्रम सकेर आइतबार काठमाडौं फर्किने तयारीमा रहेका बेला सुन्दरहरैँचा नगरपालिका-८ सलकपुरस्थित एक चिया पसलबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
दाहालमाथि अमेरिकी सञ्चारमाध्यम ‘ग्रे जोन’ ले नेपालको जेनजी आन्दोलनबारे सार्वजनिक गरेको रिपोर्ट सामाजिक सञ्जालमार्फत फैलाएको अभियोग छ। उनले गत भदौ २७ गते ‘अर्को विस्फोट’ शीर्षकमा उक्त सामग्री सेयर गरेका थिए।
रातोपाटीका अनुसार, दाहाललाई आदेश बुझेको २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन भनिएको छ। प्रहरीले युट्युब च्यानलमार्फत भूराजनीतिक र उच्च राजनीतिक व्यक्तिबारे भ्रामक प्रचार गरेको कसुरमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
