NM Khabar 29 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चितवनमा २३३ शवको वैज्ञानिक व्यवस्थापन: डीएनए सुरक्षित, पहिचान प्रक्रिया जारी

चितवनमा नारायणी नदी किनारमा फेला परेका २३३ पहिचान नखुलेका शवको वैज्ञानिक व्यवस्थापन सुरु। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार शव गाडिने, प्रत्येक शवबाट डीएनए नमूना सुरक्षित राखिने। पहिचान खुलेपछि डीएनए परीक्षण गरी शव परिवारलाई जिम्मा लगाइने व्यवस्था।
Sanjay Karki
Sanjay Karki
29 August 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
चितवन शव व्यवस्थापन
Share:

चितवनको नारायणी नदी किनारमा फेला परेका २३३ पहिचान नखुलेका शवको वैज्ञानिक व्यवस्थापन सुरु गरिएको छ। भोटेकोशी बाढीले बगाएका यी शवहरूमध्ये ५ जनाको मात्र सनाखत भएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

शव सड्न थालेपछि र महामारीको जोखिम बढेपछि जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अन्तर्राष्ट्रिय मापदण्ड अपनाएर गाड्ने प्रक्रिया अघि बढाइएको हो। अस्पतालमा लामो समय फ्रिजिङ गर्न सम्भव नभएपछि यो कदम चालिएको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

भरतपुर महानगरपालिका–१ स्थित रामनगर–देवघाट सडकखण्ड नजिकको जंगलमा करिब १.५ मिटर गहिरा तीनवटा ठूला खाडल खनिएका छन्। सुरक्षाकर्मीको उपस्थितिमा डोजर प्रयोग गरी खाडल खन्दा सालका रुखहरूलाई सकेसम्म जोगाइएको छ।

चितवनका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रामेश्वर पौडेलका अनुसार प्रत्येक शवलाई ‘डेड बडी ब्याग’ भित्र सुरक्षित राखेर मात्र खाल्डोमा गाडिनेछ। शव व्यवस्थापनका लागि आवश्यक ब्याग पर्याप्त मात्रामा उपलब्ध छन्।

अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) को विपद् व्यवस्थापन मापदण्ड अनुसार प्रत्येक शवलाई एकातर्फ खुट्टा र अर्कोतर्फ टाउको मिलाएर लस्करै राखिनेछ। शवहरूबीच ४० सेन्टिमिटरको दूरी कायम गरिनेछ।

शवको पहिचान पछि पनि नगुमोस् भन्ने उद्देश्यले विशेष कोडिङ प्रणाली लागू गरिएको छ। प्रत्येक शवको हात वा खुट्टामा कहिल्यै नष्ट नहुने नम्बरसहितको ट्याग बाँधिनेछ। माटोले पुरेको जमिनमाथि १ फिटको ढलान गरी सोही कोड नम्बरसहितको स्ट्यान्ड खडा गरिनेछ।

डीएनए नमुना सुरक्षित राखिनेछ। बेपत्ता भएका व्यक्तिका आफन्तले सम्बन्धित जिल्ला अस्पतालमा आफ्नो डीएनए नमूना दिन सक्नेछन्। यहाँ सुरक्षित राखिएको डीएनए र परिवारको डीएनए परीक्षण मिलेमा, जमिनमा राखिएको संकेत नम्बरका आधारमा शव निकालेर परिवारको जिम्मा लगाइनेछ।

सम्पूर्ण प्रक्रियाको निष्पक्षता र प्रमाणका लागि संयुक्त मुचुल्का, भिडियो, तस्बिर र जीआर सुरक्षित राखिनेछ। शव गाडिएको क्षेत्रलाई जंगली जनावर वा अन्य जोखिमबाट जोगाउन चारैतिर बलियो तारबार गरिने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार