दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भट्टमाथि हिमालयन रि इन्स्योरेन्सलगायतका कम्पनीको रकम दुरुपयोग गरी नेपाल रि इन्स्योरेन्सलगायतको सेयर खरिद गरेको आरोप छ।
उनले डिबेञ्चर खरिद बिक्रीमार्फत रकमको स्रोत लगाएर पुनः लगानी गरेको विभागको आरोपपत्रमा उल्लेख छ।
विभागका अनुसार हिमालयन रिको ३ अर्ब ८१ करोड, डिबेञ्चरमार्फत ८० करोड र नेपाल रि इन्स्योरेन्सको सेयर घाटामा बिक्री गरेको रकमसमेत यस प्रकरणमा जोडिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दीपक भट्टले हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडबाट ३ अर्ब ८१ करोड रुपैयाँ, विभिन्न डिबेञ्चर खरिदबिक्रीमार्फत ८० करोड रुपैयाँ र नेपाल रि इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर घाटामा बिक्री गरेर कमाएको रकमसमेत गरी कुल २६ अर्ब ६३ करोड २७ लाख रुपैयाँ बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको छ।
विशेष अदालतमा मुद्दा दर्ता भएसँगै अब भट्टले अदालतमा प्रतिरक्षा पेश गर्नुपर्नेछ।
