राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध विशेष अदालतमा दायर भएको भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दाको सुनुवाइ स्थगित भएको छ। न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले यसको पेसी तोकेको थियो। सरकारी वकिल कार्यालयले सुनुवाइ स्थगित गराएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीले ७० लाख रुपैयाँ घुस लिएको दाबीसहित गत २०८२ चैत १ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। आयोगको अनुसन्धानले अधिकारीले उक्त रकम अवैध रूपमा आर्जन गरी जग्गा खरिद र ऋण तिर्न प्रयोग गरेको देखाएको छ।
एच.के. इन्टरप्राइजेजले राजस्व चुहावट गरेको उजुरीमाथि कारबाही रोक्न सञ्चालक श्रीकृष्ण श्रेष्ठले अधिकारीलाई ७० लाख रुपैयाँ घुस दिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ। यो रकम विकास चापागाईं, देवेन्द्र केसी र रवीन्द्र लामिछानेको सल्लाहमा उनीहरूको बैंक खातामा जम्मा भएको थियो।
उक्त अवैध रकमबाट भक्तपुरको दिव्यश्वरी आयोजनाभित्र ५ आना जग्गा खरिद गरिएको थियो। साथै, देवेन्द्र केसी सञ्चालक रहेको ‘द कुटी रिसोर्ट’को बैंक कर्जा भुक्तानीमा समेत केही रकम प्रयोग भएको अख्तियारको दाबी छ।
