श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। बिहीबारको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ प्लेकार्ड देखाएर विरोध जनाउँदै उनले प्रधानमन्त्री स्वयं संसदमा आएर माफी माग्नुपर्ने अडान लिए।
साम्पाङले आफ्नो माग पूरा नभएसम्म यस विषयमा निरन्तर आवाज उठाउने बताए। उनले संसदलाई नियमावली अनुसार सञ्चालन गर्न पनि ध्यानाकर्षण गराए।
साम्पाङले जेठ १७ गते प्रधानमन्त्रीले सदनमा बोलेको कुरा रेकर्डबाट हटाउनुपर्ने मागबाट पछि नहट्ने स्पष्ट पारे। उनले प्रधानमन्त्रीले आफ्नो बोली सच्याउनुपर्ने र नियमहरू परिपालन गरेर सदन मर्यादित ढंगले सञ्चालन गरिनुपर्नेमा जोड दिए।
