नेपाल प्रहरीले कञ्चनपुरबाट दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिएको छ। शनिबार दिउँसो कर्नाटकबाट आएका प्रहरी असई सतिश एमआर र जवान अल्फाब आरएसलाई इलाका प्रहरी कार्यालय दोधारा चाँदनीले नियन्त्रणमा लिएको हो।
उनीहरू दोधारा चाँदनीका शंकर लुहारलाई पक्राउ गर्ने भन्दै उनको घरसम्म पुगेका थिए। नेपाल प्रहरीसँग समन्वय र पूर्वजानकारी बिना नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिक पक्राउ गर्न खोजेको सूचना पाएपछि दुवै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले उनीहरू इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको नियन्त्रणमा रहेको पुष्टि गरे।
घटनाबारे माथिल्लो निकायमा जानकारी गराइएको छ। माथिल्लो निकायबाट आउने निर्देशनअनुसार थप प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
