अन्तर्राष्ट्रिय आपतकालीन मानवीय चिकित्सा सेवा (एमएसएफ) ले इजरायलले गाजामा खानालगायत अत्यावश्यक सहायतामा प्रतिबन्ध लगाई जानाजान कुपोषणको सङ्कट निम्त्याएको आरोप लगाएको छ, जसले शिशु, गर्भवती र स्तनपान गराउने महिलाहरूमा जटिल कुपोषण संकट सिर्जना गरेको जनाइएको छ।
एमएसएफको प्रतिवेदनले गाजामा शिशु, गर्भवती र स्तनपान गराउने महिलाहरूमा जटिल कुपोषणको सङ्कट गहिरिँदै गएको देखाएको छ। इजरायलले अत्यावश्यक वस्तुहरूको प्रवाहमा नाकाबन्दी र चिकित्सा सुविधाहरू लगायतका पूर्वाधारमा आक्रमण जारी राखेका कारण यो अवस्था सिर्जना भएको प्रतिवेदनमा उल्लेख छ। गत अक्टोबरदेखि युद्धविराम भए तापनि असुरक्षा, विस्थापन र सहायतामाथिको प्रतिबन्धले मातृ तथा शिशु स्वास्थ्यमा विनाशकारी प्रभाव पारेको छ।
यो प्रतिवेदन संयुक्त राष्ट्रसङ्घको सहायता वितरणलाई अवरोध गर्ने अमेरिका र इजरायल समर्थित निजी सङ्गठनहरूको गत वर्षको गतिविधिमाथि पनि केन्द्रित छ। गाजा पट्टीमा चार स्वास्थ्य सुविधाहरूमा सन् २०२४ को अन्त्यदेखि सन् २०२६ को सुरुवातसम्मको अवस्थाको विश्लेषणमा आधारित यो अध्ययनले द्वन्द्वग्रस्त क्षेत्रमा मानवीय सहायताको पहुँचमाथि राज्य र गैर-राज्य पक्षहरूको भूमिकालाई उजागर गरेको छ।
कुपोषित आमाबाट जन्मेका शिशुमा मृत्युदर दोब्बर
एमएसएफले गत जुन र जनवरीको बीचमा खान युनूस र गाजा शहरका अस्पतालहरूमा नवजात सघन स्याहार कक्षमा उपचार गराइरहेका २०० भन्दा बढी आमा र नवजात शिशुहरूबाट तथ्याङ्क सङ्कलन गरेको थियो। विश्लेषणले आधाभन्दा बढी महिलाहरू गर्भावस्थाको कुनै न कुनै समयमा कुपोषणबाट प्रभावित भएको र तीमध्ये एक चौथाइ अझै पनि कुपोषित अवस्थामा रहेको देखाएको छ। कुपोषित आमाहरूबाट जन्मेका ९० प्रतिशत शिशुहरू समय अगावै जन्मेको र ८४ प्रतिशतको जन्मदै वजन कम भएको प्रतिवेदनले पत्ता लगाएको छ। कुपोषणबाट प्रभावित आमाहरूबाट जन्मेका शिशुहरूमा नवजात मृत्युदर कुपोषणबिना आमाहरूबाट जन्मेका शिशुहरूको तुलनामा दुई गुणा बढी भएको एमएसएफले जनाएको छ।
एमएसएफले अक्टोबर २०२४ र डिसेम्बर २०२५ को बीचमा खान युनूसमा बाह्य रोगी उपचारात्मक आहार कार्यक्रममा भर्ना भएका छ महिना भन्दा कम उमेरका ५१३ जना शिशुहरूको तथ्याङ्कको आधारमा पनि विश्लेषण गरेको थियो। एमएसएफले इजरायली अधिकारीहरूलाई गाजामा सहायता र आपूर्तिको निर्बाध प्रवेशलाई तुरुन्तै अनुमति दिन आह्वान गरेको छ।
