काठमाडौंमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना २०८३ लागू भएको छ, जसअन्तर्गत ३ हजार ५०६ सुरक्षाकर्मी आगामी कार्तिक ३० गतेसम्म परिचालन हुनेछन्। जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन गर्दै चाडपर्वमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित र सुव्यवस्थित वातावरण कायम गर्न यो योजना ल्याइएको जानकारी दिएको हो।
३,५०६ सुरक्षाकर्मी, ड्रोन र सीसीटीभी परिचालन
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलिप घिमिरेले चाडपर्वलाई लक्षित गरी सामान्य अवस्थाको भन्दा अझ व्यवस्थित, परिष्कृत र प्रविधिमैत्री विशेष सुरक्षा योजना बनाएर लागू गरिएको बताएका छन्। उनले चोरी, लुटपाट, गुण्डागर्दी, जुवातास, टिकटमा हुने ठगी, ओभरलोड, सवारी दुर्घटना, पटका, आतिशबाजी, आगलागी, मादक पदार्थ सेवनपछि हुने दुर्घटना, नक्कली नोटको कारोबार र हत्याजस्ता विकृति-विसङ्गतिहरूलाई न्यूनीकरण तथा नियन्त्रण गर्ने लक्ष्य राखिएको उल्लेख गरे।
काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सीसीटीभी क्यामेरा र ३ वटा ड्रोनमार्फत आकाशबाट समेत निगरानी गरिने प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले जानकारी दिए। काठमाडौंका प्रमुख नाका तथा अत्यधिक भीडभाड हुने संवेदनशील स्थानहरूमा तालिमप्राप्त कुकुरसहितको टोलीले नियमित ‘डग स्निफिङ’ गर्नेछ। यसले विशेषगरी विस्फोटक पदार्थ पहिचानमा सहयोग पुग्नेछ।
सुरक्षा कायम गर्न १६६ वटा मोबाइल भ्यान, ५०८ स्थानमा स्ट्याटिक पिकेट, २१० वटा पैदल गस्ती र १५२ स्थानमा मोटरसाइकल परिचालन हुने प्रवक्ता थापाले बताए। यसका साथै ९८ स्थानमा एरिया कभर, १४० वटा गाडीसहितको क्यूआरटी, १४० स्थानमा कर्डन सर्च, ७० सादा पोशाकको टोली, १३३ चेकप्वाइन्ट, ८० मन्दिरहरूमा विशेष सुरक्षा र १४८ टिकट काउन्टरमा पनि विशेष निगरानी गरिनेछ।
नागरिक सहायता कक्ष र जनचेतना कार्यक्रम
यात्रुहरूलाई ठगी र असुविधाबाट बचाउन तथा सहजीकरण गर्नका लागि नागरिक सहायता कक्षहरू स्थापना गरी प्रहरी परिचालन व्यापक बनाइएको छ। काठमाडौं परिसरले बालाजुबाट यसको सुरुवात गर्दै कुल १२ स्थानहरूमा नागरिक सहायता कक्ष स्थापना गर्ने भएको छ। यी कक्षहरू कलंकी, बल्खु, कोटेश्वर, जडिबुटी, गौशाला, चाबहिल चोक, गोंगबु बसपार्क, बिजी मल अगाडि, सितपाइला जोरपाटी, बालाजु बाइपास, बालाजु चोक र सुरुङमार्ग नागढुंगा लगायतका क्षेत्रहरूमा रहनेछन्।
यस सुरक्षा योजनामा ‘पीपीआई’ (Promotional, Preventive, Enforcement, Innovation) मोडल लागू गरिएको छ। ‘प्रोमोशनल’ अन्तर्गत जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ, जसमा मिडिया, सामाजिक सञ्जाल तथा समुदायमार्फत सुरक्षा सन्देश प्रवाह गरी नागरिकलाई सचेतना अभिवृद्धि गरिनेछ। ‘प्रिभेन्टिभ’ अन्तर्गत सम्भावित अपराध तथा जोखिम पहिचान गरी अग्रिम तयारी गर्ने, गस्ती, निगरानी, चेकजाँच र संवेदनशील स्थानहरूमा प्रहरीको उपस्थिति सुदृढ बनाइनेछ। ‘इन्फोर्समेन्ट’ मा कानून विपरीत क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिई कारबाही गरिनेछ भने ‘इन्नोभेशन’ मा प्रविधिको अधिक प्रयोग गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाइनेछ।
यस योजनामा तालुक कार्यालयबाट थप १९० जना सुरक्षाकर्मी परिचालन हुने बताइएको छ, तर कुन कार्यालयबाट भन्ने स्पष्ट खुलाइएको छैन।
