मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

मधेस प्रदेशमा दुई महिनामा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

मधेस प्रदेशमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४५९ विपद्का घटना भएका छन्। यी घटनामा ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन्।
Sanjay Karki
Sanjay Karki
3 October 2026, 6:28 pm १ मिनेट पढाइ
आकार:
मधेस विपद्, ९२ मृत्यु
Share:

मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा ४५९ विपद्का घटना भएका छन्। यी घटनामा परी ९२ जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी परिवार प्रभावित भएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार साउन र भदौ महिनामा भएका विपद्का घटनामा ४७ पुरुष, १९ महिला र २६ बालबालिकासहित ९२ जनाले ज्यान गुमाएका हुन्। यस अवधिमा आगलागी, बाढी, चट्याङ, करेन्ट, पानीमा डुब्ने, जङ्गली जनावरको आक्रमण र डुबानलगायतका घटना भएका छन्।

विपद्का विभिन्न घटनामध्ये करेन्ट लागेर मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी ३९ जना रहेको छ। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले सो अवधिमा पानीमा डुबेर २९ जना, जङ्गली जनावरको आक्रमणबाट पाँच जना, चट्याङ लागेर तीन जना र आगलागीबाट एक जनाको मृत्यु भएको जानकारी दिए। अन्य विभिन्न विपद्का घटनामा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी तथ्यांकअनुसार, दुई महिनाको अवधिमा आगलागीका ११२, करेन्ट लागेका १०७, पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ र चट्याङका १० घटना भएका छन्। यी विपद्का घटनाबाट कुल २ करोड ९२ लाख ४७ हजार ५५५ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ। आगलागीका घटनाबाट मात्रै २१२ परिवारका घर जलेर २ करोड ७० लाख १३ हजार ३५० रुपैयाँको क्षति भएको छ।

वरिष्ठ प्रहरी उपरीक्षक ढकालले आगलागी र करेन्टसँग सम्बन्धित घटनामा मानवीय क्षति न्यूनीकरणका लागि पूर्वसावधानी र जनचेतनाको भूमिका महत्त्वपूर्ण हुने बताए। विपद्का समयमा प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत वितरणका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायले समन्वय गर्दै आएका छन्।

विपद् व्यवस्थापन तथा उद्धार कार्यका क्रममा दुई हजार ८६९ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मधेस प्रदेशका आठवटै जिल्लामा विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार