महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणको मूल नहर सीमाभित्र करिब २० किलोमिटर क्षेत्रमा संरचना अतिक्रमण भएको छ। महाकाली सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले मंगलबार सूचना जारी गरी सात दिनभित्र अतिक्रमण हटाउन अल्टिमेटम दिएको छ।
कार्यालयका प्रमुख प्रमोद तिम्सिनाले नहर सीमाभित्र स्वीकृतिबिना घरटहरा निर्माण, निर्माण सामग्री थुपार्ने, नहर पुरेर बाटो बनाउने, संरचना भत्काउने, ढल वा पानी मिसाउने तथा पानी प्रवाहमा अवरोध पुर्याउने कार्य भएको बताए। यस्ता संरचना सात दिनभित्र भत्काउन वा हटाउन आग्रह गरिएको छ।
तोकिएको अवधिमा संरचना नहटाएमा सम्बन्धित व्यक्ति वा संस्थाविरुद्ध कारबाही गरिने र हटाउन लाग्ने सम्पूर्ण खर्च असुलउपर गरिने तिम्सिनाले जानकारी दिए।
यसअघि महेन्द्रनगरस्थित डिभिजन सडक कार्यालयले गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्मको १२६ किलोमिटर महेन्द्र राजमार्गमा १५ दिने अतिक्रमण हटाउने सूचना जारी गरेको थियो।
