NM Khabar 14 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

म्याग्दीका महिलाले जङ्गलको अल्लोबाट बनाए आम्दानीको गतिलो स्रोत

म्याग्दीको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको स्रोत बनाएका छन्। अल्लोबाट बनेको कपडा प्रतिमिटर पाँच सयदेखि सात सय पचास रुपैयाँमा बिक्री हुन्छ। पर्यटक, प्रवासी र विभिन्न मेला महोत्सवहरूमा अल्लोका कपडाको माग बढेको छ।
Maya Thapa
Maya Thapa
14 June 2026, 5:33 pm १ मिनेट पढाइ
आकार:
अल्लोबाट आम्दानी
Share:

म्याग्दीको मालिका गाउँपालिका-२ रुमका महिलाले जङ्गलमा खेर जाने अल्लोलाई आम्दानीको मुख्य स्रोत बनाएका छन्। अल्लोको पुवा प्रशोधन गरी विभिन्न सामग्री तयार पारेर उनीहरू स्वरोजगार र आत्मनिर्भर बनेका हुन्।

रुम अल्लो कपडा तथा ढाका उत्पादन समूहकी अध्यक्ष मनकुमारी पुनका अनुसार १२ महिला उद्यमी अल्लो कपडा बनाउँछन्। ‘एक जनाले वार्षिक ४५ देखि १५० मिटरसम्म कपडा बनाउँछौं,’ उनले भनिन्, ‘प्रतिमिटर पाँच सयदेखि सात सय पचास रुपैयाँमा बिक्री हुन्छ।’

हिउँदयाममा लेकाली जङ्गलबाट अल्लोको पुवा सङ्कलन गरी धागो बनाइन्छ। चाल्से सिस्नोको डाँठको बाहिरी भागबाट निकालिने पुवालाई तातोपानीमा पकाएर रेसादार धागो तयार पारिन्छ। यो धागो तानमा बुनेर कपडा बन्छ।

‘अल्लोको धागो र कपडा वातावरणमैत्री, बलियो, टिकाउ र मौलिक सीपमा आधारित छ,’ उद्यमी हिमदेवी घर्तीले सुनाइन्। ‘यसको माग बढेको छ। खेती र घरायसी कामबाट बचेको समयको सदुपयोगले घरखर्च चलाउन र छोराछोरी पढाउन सजिलो भएको छ।’

उद्यमीहरूले ग्राहकको मागअनुसार कोट, झोला, सपिङ ब्याग, सल, पछ्यौरा र पर्सजस्ता सामग्री बनाएर थप आम्दानी गरेका छन्। पहिले कुर्ता सुरुवाल मात्र सिलाउने गरे पनि अहिले नयाँ डिजाइनका कपडा बनाउन थालिएको उद्यमी गौमाया पुनले बताइन्। एउटा अल्लोको कोट पाँच हजार रुपैयाँसम्ममा बिक्री हुन्छ।

रुम घुम्न आउने पर्यटक र पाहुनाले कोशेलीका रूपमा अल्लोका कपडा किन्छन्। बेनी, पोखरा, बागलुङ, कुश्माका मेला तथा महोत्सवमा सामानको प्रदर्शनी र प्रवर्द्धन गरिएको छ। चाडपर्व मनाउन जन्मथलो फर्केका प्रवासीहरू पनि अल्लोका कपडाका ग्राहक बनेका छन्।

मालिका गाउँपालिकाकी उद्यम विकास सहजकर्ता होमदेवी खत्रीका अनुसार उद्यमीलाई अल्लो कपडाबाट सामग्री बनाउन तालिम र तान सहयोग गरिएको छ। गरिबी निवारण कोष र गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रम जस्ता सङ्घसंस्थाले तालिम, प्रविधि र पूर्वाधार निर्माणमा सहयोग गरेका छन्।

सामूहिक कपडा बुन्ने उद्यमीका लागि मालिका-२ का वडाध्यक्ष उदयकुमार बुढाथोकीले साझा सुविधा केन्द्र भवन निर्माण गरिएको जानकारी दिए। स्थानीय स्रोतसाधनमा आधारित यस उद्यमले महिलाको आर्थिक सशक्तीकरण र गाउँमा रोजगारी सिर्जनामा योगदान पुर्‍याएको छ।

पहिले जङ्गलमा खेर जाने अल्लो रुमका महिलाहरूको जीवन परिवर्तन गर्ने माध्यम बनेको छ। परिश्रम, सीप र सामूहिक प्रयासले उनीहरूले गाउँमै आयआर्जनको दिगो आधार तयार पारेका छन्। स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तार गर्न सके अल्लो उद्यम ग्रामीण अर्थतन्त्रको महत्वपूर्ण आधार बन्ने अपेक्षा छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार