सरकारी स्वामित्वमा आइसकेको स्मार्ट टेलिकमको अर्बौंको सम्पत्ति गैरकानुनी रूपमा बिक्री गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार एनसेलको प्रधान कार्यालयबाट कागजात नियन्त्रणमा लिएको छ।
स्मार्ट टेलिकमको अर्बौँ मूल्यको सम्पत्ति गैरकानुनी रूपमा लिलाम बिक्री गरी सरकारको हक टुटाउन खोजिएको विषयमा सीआईबीले अनुसन्धान गरिरहेको छ। प्रहरीले एनसेलको ललितपुरस्थित नक्खु कार्यालयमा पुगेर महत्त्वपूर्ण कागजात र प्रमाणहरू नियन्त्रणमा लिएको हो।
उच्च सुरक्षा स्रोतका अनुसार, सीआईबीको टोलीले स्मार्ट टेलिकमको उपकरण खरिदबारे सोधखोज गर्दै सचिनलाल श्रेष्ठ र भावना श्रेष्ठको बारेमा जानकारी लिएको थियो। सीआईबी स्रोतले अनुसन्धानकै क्रममा रहेकाले धेरै बोल्न नमिल्ने बताए पनि छापा मारिएको र केही कागजात नियन्त्रणमा लिइएको पुष्टि गरेको छ।
यसअघि यही प्रकरणमा सीआईबीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेसहित पलिना श्रेष्ठ र नरेन्द्र उलकलाई पक्राउ गरिसकेको छ। बैंकले स्मार्ट टेलिकमका सीईओ सर्वेश जोशीसँग असुल गर्नुपर्ने कर्जाको धितो सकार्न बोलपत्र आह्वान गरेको थियो।
उक्त बोलपत्रमा ट्रान्सगेट टेक प्रालिले ४४ करोड ५० लाख, प्रोफेसनल बिजनेस नेटवर्क प्रालिले ४२ करोड ५० लाख र एनसेल आजियाटा लिमिटेडले चार अर्ब ६० करोड रुपैयाँको प्रस्ताव पेस गरेका थिए। बैंकले असुल गर्नुपर्ने तीन अर्ब ९५ करोड रुपैयाँभन्दा बढीको बोलपत्र भएकाले एनसेलको प्रस्ताव स्वीकृत भएको थियो।
बैंकले स्मार्ट टेलिकमका उपकरण एनसेललाई ४ अर्ब ६० करोड रुपैयाँमा बिक्री गरेको थियो। तर, स्मार्ट टेलिकमको नवीकरण समयमै नभएपछि उक्त टेलिकम सरकारको मातहतमा आइसकेको थियो।
सरकारी सम्पत्ति गैरकानुनी रूपमा बिक्री गरेको आरोपमा सीआईबीले खरिदकर्ता र बिक्रीकर्ताविरुद्ध अनुसन्धानलाई तीव्रता दिइरहेको छ।
