सर्लाहीको बागमती नगरपालिका–१२ स्थित पुतली चोकमा शुक्रबार सुकुम्बासीहरू सरकारी कदमविरुद्ध आन्दोलित भएका छन्। वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका परिवारमा उठिवासको चिन्ता बढेपछि उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।
शुक्रबार बागमती नगरपालिका १२ स्थित पुतली चोकमा भेला भएका सुकुम्बासीहरूले ‘उठिवास होइन, व्यवस्थापन गर’, ‘गरिबलाई पनि बाँच्न दे सरकार’ र ‘जग्गा सरकारको भए जनता कसको ?’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए। बागमती नगरपालिकासहित आसपासका स्थानीय तहबाट ऐलानी, पर्ती, वन क्षेत्र तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरू यस प्रदर्शनमा सहभागी भएका थिए।
भारी वर्षाका बीच पुतली चोकबाट सुरु भएको र्याली बागमती पुल हुँदै वीर गोर्खाली चोक पुगेर कोणसभामा परिणत भएको थियो। प्रदर्शनकारीहरूले सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा आफूहरूलाई वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट हटाउन खोजेको आरोप लगाएका छन्। वैकल्पिक व्यवस्थाबिनै उठिवास गराउन खोजिएको भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका छन्।
कोणसभालाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले व्यवस्थापनको नाममा सुकुम्बासीलाई विस्थापित गर्न नहुने बताए। उनले ‘जग्गा सरकारको भए जनता कहाँ जाने ?’ भन्दै सरकारको भूमिनीतिमाथि प्रश्न उठाए। नेता श्रेष्ठले नागरिक तहमा सरकारको रबैयाले त्रास र चिन्ताको अवस्था सृजना भएको भन्दै व्यवस्थापनको नाममा सरकार सुकुम्बासीप्रति तानाशाही बनेको आरोप समेत लगाए।
