धितोपत्र बजारमा चलखेल: ८१ जनाविरुद्ध १ अर्ब १४ करोडको मुद्दा
धितोपत्र बजारमा संगठित रूपमा कृत्रिम कारोबार गरी मूल्यमा चलखेल गरेको अभियोगमा ८१ जना व्यक्ति तथा संस्थाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले धितोपत्रसम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा १ अर्ब १४ करोड ८ लाख ६९ हजार ९३६ रुपैयाँ ७० पैसा बिगो दाबी गर्दै अभियोग पत्र दर्ता गरेको हो।
अभियोग पत्रमा इन्फिनिटी होल्डिङ्सका सञ्चालक दीपक भट्ट र सुलभ अग्रवाललाई मुख्य योजनाकारका रूपमा उल्लेख गरिएको छ। उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगमा विशेष अदालतमा पनि मुद्दा दायर भएको छ।
विशेष अदालतका रजिस्ट्रार वेदप्रसाद उप्रेतीका अनुसार, दीपक भट्ट र शुलभ अग्रवालसहित ३४ जना व्यक्ति र पाँच कम्पनीविरुद्ध सम्पत्ति शुद्धीकरणको अभियोगपत्र दायर भएको छ। विशेष अदालतमा अभियोगपत्रको अध्ययन भइरहेको र मुद्दा दर्ताको प्रक्रिया जारी रहेको उनले जानकारी दिए।
विशेष अदालतमा दायर भएको मुद्दामा पनि एक अर्बभन्दा माथिको बिगो दाबी गरिएको छ।
