NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नक्कली भुटानी शरणार्थी प्रकरण: काठमाडौं जिल्ला अदालतमा मुद्दा अन्तिम चरणमा

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा अन्तिम चरणमा पुगेको छ। न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दालाई 'हेर्दाहेर्दै'मा राखेको छ र चाँडो किनारा लगाउने तयारी छ। पूर्वमन्त्री, उच्च राजनीतिक नेतृत्व र कर्मचारीसहित ३० भन्दा बढी जनाविरुद्ध ठगी, किर्ते र संगठित अपराधमा मुद्दा दर्ता भएको छ।
Arjun Basnet
Arjun Basnet
10 June 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
नक्कली भुटानी शरणार्थी मुद्दा
Share:

नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा अन्तिम चरणमा पुगेको छ। बुधबार सुनुवाइ नसकिएपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले यसलाई निरन्तर सुनुवाइ गरी चाँडो टुंगोमा पुर्‍याउने उद्देश्यले ‘हेर्दाहेर्दै’ अवस्थामा राखेको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिकाजस्ता विभिन्न देशमा पठाउने गिरोहले तत्कालीन मन्त्री, उच्च राजनीतिक नेतृत्व र कर्मचारीहरूको मिलेमतोमा यो अपराध गरेको दाबीसहित चारवटा अभियोगमा मुद्दा दायर गरिएको थियो।

प्रहरी अनुसन्धानपछि सन्दीप रायमाझीसहित ३० जनाविरुद्ध २०८० जेठ २६ गते, केशवप्रसाद दुलालसहित पाँचजनाविरुद्ध २०८१ वैशाख ९ गते र अर्का आरोपी बेचन झाविरुद्ध २०८१ साउन २९ गते ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधसम्बन्धी मुद्दा दर्ता भएको थियो।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले मुद्दाको सुनुवाइ बिहीबारका लागि ‘हेर्दाहेर्दै’मा राखिएको जानकारी दिए। अदालतले अब निरन्तर बहस गराएर जिल्ला तहबाटै मुद्दाको किनारा लगाउने तयारी गरेको छ।

यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डेय, सुरक्षा विज्ञ इन्द्रजित राई, पूर्वसभासद आङ्टावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, सुरक्षा सल्लाहकार इन्द्रजित राई र उनका छोरा निरज राईलगायतविरुद्ध मुद्दा चलाइएको छ।

शरणार्थीको प्रलोभन देखाएर करोडौं रकम ठगी गरेको भन्दै २०७९ जेठ १८ गते ८१ जना पीडितले प्रहरीमा जाहेरी दिएका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरी सरकारी वकिलमार्फत मुद्दा दायर गरेको हो।

केशवप्रसाद दुलाल, सानु भण्डारीसहित पाँच जनाविरुद्ध पूरक अभियोग र बेचन झा पक्राउ परेपछि उनीविरुद्ध पनि पूरक अभियोगपत्र दर्ता भएको थियो। दुलाल, भण्डारी र झामाथि उच्च पदस्थलाई रकम मिलाउन विचौलियाको भूमिका खेलेको आरोप छ।

पीडित गजेन्द्र बुढाथोकी, रामकुमार रेग्मी लगायत ८१ जनाको तर्फबाट नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजानका लागि १३ करोड रुपैयाँ उठाएको दाबीसहित जाहेरी परेको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार