गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित दुई होल्डिङ सेन्टरको बिहीबार आकस्मिक अवलोकन गरे। अवलोकनका क्रममा उनले त्यहाँ बसिरहेका सुकुम्बासी परिवारसँग विगतका कमजोरीमा माफी मागे।
मन्त्री गुरुङले आफू मन्त्रालयमा नहुँदा बस्ती हटाइएको भए पनि सरकार उचित व्यवस्थापनमा गम्भीर रहेको स्पष्ट पारे। उनले भने, “सरकारले जुनसुकै हालतमा तपाईंहरूको उचित व्यवस्थापन गर्नेछ। अहिले पनि हाम्रो ध्यान यसैमा केन्द्रित छ।”
सुकुम्बासी परिवारले बालबालिकाको शिक्षादीक्षामा असहजता र उपचारका लागि डाक्टर नआएको गुनासो गरे। बस्न र खान भने सहज भएको उनीहरूको भनाइ थियो।
गुनासो सुनेलगत्तै गृहमन्त्री गुरुङले उक्त क्षेत्रमा प्रहरी टोली खटाउन निर्देशन दिए। होल्डिङ सेन्टरको निरन्तर अपडेट राख्न र स्वास्थ्य समस्या वा आकस्मिक अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याउने व्यवस्था मिलाउन उनले भने।
गृहमन्त्री आफैँ भेट्न आएपछि पीडित परिवारमा आशा जागेको छ। उनीहरू अब गृहमन्त्रीले जग्गा र स्थायी बसोबासको व्यवस्थापन गरिदिनेमा आशावादी छन्।
