बागमती प्रदेशको कुल अर्थतन्त्र (कुल गार्हस्थ्य उत्पादन) २४ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी पुग्ने प्रक्षेपण गरिएको छ। यसले नेपालको राष्ट्रिय अर्थतन्त्रमा ३६.७ प्रतिशत हिस्सा ओगट्ने देखिएको छ।
बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ अनुसार, आइतबार प्रदेश सभामा प्रस्तुत तथ्यांकले यो प्रक्षेपण गरेको हो। यस आर्थिक वर्षमा नेपालको कुल अर्थतन्त्र ६६ खर्ब ९ करोड रुपैयाँ पुग्ने अनुमान छ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा बागमती प्रदेशको आर्थिक वृद्धि दर ५.४ प्रतिशत पुग्ने अनुमान छ। यो राष्ट्रिय आर्थिक वृद्धि दर ३.८५ प्रतिशतभन्दा बढी हो।
प्रदेशका नागरिकको प्रतिव्यक्ति आय पनि राष्ट्रिय औसतभन्दा राम्रो छ। नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५१३ अमेरिकी डलर अनुमान गरिएकामा बागमतीका नागरिकको प्रतिव्यक्ति आय २ हजार ६४४ अमेरिकी डलर पुग्ने अनुमान छ।
अर्थतन्त्रमा सेवा क्षेत्रको प्रभुत्व कायमै छ। कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७६.६ प्रतिशत रहने अनुमान छ। उद्योग क्षेत्रको योगदान १२.२ प्रतिशत र कृषि क्षेत्रको योगदान ११.२ प्रतिशत रहनेछ।
फागुनसम्म बागमती प्रदेशको मुद्रास्फीति ३.६२ प्रतिशत छ। उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धिले नागरिकलाई असर पारिरहेको छ।
प्रदेश सरकारको खर्च भने अपेक्षाअनुसार छैन। फागुन मसान्तसम्म कुल खर्च १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ। यो वार्षिक विनियोजनको २२.३० प्रतिशत मात्र हो। चालुतर्फ ३०.५६ प्रतिशत र पुँजीगततर्फ १७.१२ प्रतिशत खर्च भएकाले विकास बजेट कार्यान्वयन सुस्त छ।
प्रदेश सरकारले फागुनसम्म कुल आय, राजस्व बाँडफाँड र नगद मौज्दातसहित ३८ अर्ब ७८ करोड रुपैयाँ सङ्कलन गरेको छ। यो वार्षिक अनुमानको ५७.४८ प्रतिशत हो।
प्रदेशमा वित्तीय पहुँच विस्तार भएको छ। सबै ११९ स्थानीय तहमा बैंकका शाखा पुगेका छन्। एक बैंक शाखाले औसत २ हजार २९ जनालाई सेवा दिइरहेको छ।
वित्तीय साक्षरताको अवस्था पनि राष्ट्रिय औसतभन्दा राम्रो छ। नेपालमा ५७.९ प्रतिशत वित्तीय साक्षरता रहेकामा बागमती प्रदेशमा यो दर ६४.५ प्रतिशत पुगेको छ।
प्रदेशको कुल जनसंख्याको ४४.५२ प्रतिशत कृषि पेसामा आबद्ध छ। सिँचाइयोग्य जमिनमध्ये ५०.२६ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ।
सडक निर्माण र स्तरोन्नतिमा पनि प्रगति भएको छ। फागुनसम्म १३.५४ किलोमिटर नयाँ सडक ट्र्याक खोलिएको छ। ८२.१५ किलोमिटर ग्राभेल र १२६.०८ किलोमिटर कालोपत्रे सडक स्तरोन्नति गरिएको छ।
वैकल्पिक ऊर्जासहित ९९.९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच छ। ९३.४० प्रतिशत घरधुरीमा आधारभूत खानेपानी सुविधा उपलब्ध छ।
बागमती प्रदेशको साक्षरता दर ८२.१ प्रतिशत पुगेको छ। आधारभूत तहको खुद भर्ना दर शतप्रतिशत छ। माध्यमिक तह (कक्षा ९–१२) मा खुद भर्ना दर ५१.८ प्रतिशत मात्र छ। विद्यार्थी टिकाइराख्ने चुनौती अझै कायम छ।
स्वास्थ्य क्षेत्रमा मातृ मृत्युदर प्रति एक लाख जीवित जन्ममा ९८ छ।
