NM Khabar 15 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

विश्वकप हेर्ने बहानामा मालवेयरको बिगबिगी, साइबर ब्युरोको सचेतनामूलक आग्रह

विश्वकप २०२६ निःशुल्क हेर्ने प्रलोभन देखाएर मालवेयरयुक्त एप डाउनलोड गराउँदै ठगी। ह्याकरले एपमार्फत मोबाइलको पूर्ण नियन्त्रण लिई बैंकिङ एपबाट रकम चोर्ने गरेको खुलासा। साइबर ब्युरोद्वारा अनावश्यक एप डाउनलोड नगर्न र शंकास्पद लिङ्कमा क्लिक नगर्न सर्वसाधारणलाई आग्रह।
Rohan Tamang
Rohan Tamang
15 June 2026, 5:03 pm १ मिनेट पढाइ
आकार:
विश्वकप एप ठगी
Share:

विश्वकप हेर्ने बहानामा मालवेयरको बिगबिगी, साइबर ब्युरोको सचेतनामूलक आग्रह

फिफा विश्वकप २०२६ निःशुल्क हेर्न सकिने प्रलोभन देखाउँदै मालवेयरयुक्त एप डाउनलोड गराएर ठगी गर्ने क्रम बढेपछि नेपाल प्रहरीको साइबर ब्युरोले सर्वसाधारणलाई सचेत गराएको छ। ब्युरोले सोमबार एक सूचना जारी गर्दै अनावश्यक तथा शंकास्पद एपहरू डाउनलोड तथा इन्स्टल नगर्न अनुरोध गरेको हो।

पछिल्लो समय सामाजिक सञ्जालमा देखिने विभिन्न विज्ञापन तथा अनलाइनका अन्य माध्यममा विश्वकप २०२६ निःशुल्क वा सहजै हेर्न सकिने भन्दै विभिन्न लिङ्क र एपहरूको प्रचार भइरहेको छ। ठगहरूले यस्ता विज्ञापनमार्फत प्रयोगकर्तालाई एन्ड्रोइड इन्स्टलर फाइल अर्थात् डट एपीके (.apk) डाउनलोड गर्न लगाउँछन्।

यसरी एप इन्स्टल गर्ने क्रममा ती एपले मोबाइलका विभिन्न अनुमति (पर्मिसन) हरू माग्छन्। खेल हेर्ने हतारोमा प्रयोगकर्ताले नबुझी ‘एलाउ’ (Allow) गरेर सबै अनुमति दिएपछि ह्याकरहरूले मोबाइलको पूर्ण नियन्त्रण लिन्छन्। यसरी नियन्त्रणमा लिएको मोबाइलमार्फत मोबाइल बैंकिङ एप ह्याक गरी खातामा रहेको सम्पूर्ण रकम चोर्ने गरेको पाइएको छ।

साइबर ब्युरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) दिलीपकुमार गिरीले विश्वकपको नाममा भइरहेको यस प्रकारको ठगीप्रति गम्भीर हुन प्रयोगकर्तालाई आग्रह गरेका छन्। उनले भने, ‘यस विषयसँग सम्बन्धित सचेतनामूलक सामग्रीहरू ब्यूरोको आधिकारिक फेसबुक पेजबाट समेत पोस्ट गरिएको हुँदा उक्त पेजबाट विस्तृत जानकारी लिई विश्वकप फुटबलको नाममा हुने ठगीबाट जोगिन हामी अनुरोध गर्दछौँ।’

साइबर ब्युरोले विशेषगरी इन्टरनेटमा भेटिने ‘.apk’, ‘.exe’, ‘.bat’ वा ‘.sh’ जस्ता फर्म्याटका फाइलहरू इन्स्टल गर्दा मोबाइलमा भाइरस छिर्ने र व्यक्तिगत डाटा तथा बैंकिङ विवरण चोरी हुने उच्च जोखिम रहने बताएको छ। यसका साथै, बैंक तथा वित्तीय संस्थाहरूको बैंकिङ सिस्टम वा एप अपडेट गर्नुपरेमा सामाजिक सञ्जालका भ्रामक लिङ्कको पछि नलागी सम्बन्धित बैंककै आधिकारिक सूचनालाई मात्र आधार मान्न पनि ब्युरोले सल्लाह दिएको छ।

यदि कसैले यस्तो एपमार्फत ठगी गर्ने प्रयास गरेमा वा कोही झुक्किएर ठगीको शिकार भइसकेको भए तत्काल कानुनी उपचार खोज्न प्रहरीले आग्रह गरेको छ। यसका लागि पीडितले तुरुन्तै नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न वा साइबर ब्युरोको सम्पर्क नम्बर ९८५१२८६७७२ तथा आधिकारिक इमेल ठेगाना [email protected] मार्फत उजुरी दर्ता गराउन सक्नेछन्।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार