राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी चार दिन थुनामा रहने भएका छन्। राहदानी छपाइ प्रक्रियामा भ्रष्टाचार भएको आशंकामा उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राख्न विशेष अदालतले सोमबार अनुमति दिएको हो।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू उमेश कोइराला तथा विदुर कोइरालाको इजलासले यो आदेश जारी गरेको अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताए। अर्याल र केसीलाई सोमबारदेखि लागू हुने गरी न्यायिक हिरासतमा पठाइएको छ।
स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नियन्त्रणमा लिएको थियो। पासपोर्ट खरिदसम्बन्धी फाइल बोकेर प्रधानमन्त्री कार्यालय पुगेका बेला अख्तियारको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। यस क्रममा प्रधानमन्त्री सचिवालयका कर्मचारीहरूको पनि उपस्थिति थियो।
अख्तियार प्रमुख प्रेमकुमार राईसहितको टोलीले पासपोर्ट खरिद प्रक्रियाका फाइल अध्ययन गरेपछि थप अनुसन्धान आवश्यक निष्कर्षमा पुगेर पक्राउको निर्णय लिएको थियो।
राहदानी छपाइका लागि गत साउनमा दुई जर्मन कम्पनी म्युहलबाउर र भेरिडोससँग ठेक्का सम्झौता भएको थियो। यसअघि टेन्डर पाएको पुरानो कम्पनीको सम्झौता अवधि सकिएपछि नयाँ सम्झौता भएको थियो। करिब ६४ लाख राहदानी छाप्नका लागि ती कम्पनीसँग साढे ७ अर्ब रुपैयाँभन्दा बढीको ठेक्का सम्झौता भएको थियो।
सम्झौताअनुसार म्युहलबाउयर आइडी सर्भिस जीएमबीएचले १ अर्ब ५५ करोड रुपैयाँ र भेरिडोस जीएमबीएचले ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँमा ठेक्का लिएका थिए। असार मसान्तसम्म राहदानी छपाइ सक्ने सहमति थियो।
उक्त ठेक्का प्रक्रियामा सुरुदेखि नै अनियमितताको आशंका थियो। प्रधानमन्त्री सचिवालयले १५ दिनअघि नै यस विषयमा चासो देखाउँदै अर्यालसँग ठेक्कासम्बन्धी कागजात मागेको थियो। कागजात बोकेर प्रधानमन्त्री कार्यालय पुग्दा नै अर्याल पक्राउ परेका थिए।
भेरिडोस कम्पनीका नेपाली प्रतिनिधि राष्ट्रियसभा सदस्य सुनिल थापाका पुत्र सिद्धार्थ थापा हुन्। म्युहलबाउर कम्पनीका नेपाली प्रतिनिधि दिनेश मानन्धर हुन्।
यसअघि राहदानी छपाइको ठेक्का फ्रान्सको कम्पनी आइडेमियाले लिएको थियो। २०२० मा २ अर्ब ५० करोड रुपैयाँमा भएको उक्त ठेक्का पनि विवादित थियो।
यस पटक राहदानी छपाइलाई टुक्राएर दुई फरक कम्पनीलाई ठेक्का दिइएको विषयमा पनि प्रधानमन्त्री कार्यालयका कर्मचारीहरूले अनियमितताको आशंका व्यक्त गरेका छन्।
