नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कुसुम थापा मगरले पार्टीभित्रको विवाद मिलाउन कांग्रेस नेता दीपक खड्काले अदालतका न्यायाधीशदेखि कर्मचारीसम्मलाई मिलाइसकेको र आदेश आफ्नो पक्षमा आउने दाबी गरेको आरोप लगाएकी छन्।
कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै अदालतमा विचाराधीन रहेको मुद्दामा खड्काले यस्तो अभिव्यक्ति दिएको थापा मगरको दाबी छ। संस्थापन इतर समूहले अदालतमा दर्ता गरेको मुद्दामा पुनरावलोकन हुने क्रममा खड्काले यस्तो बताएको स्रोतको भनाइ छ।
थापा मगरले सामाजिक सञ्जालमार्फत खड्काको अभिव्यक्तिको कडा आलोचना गर्दै भनेकी छन्, ‘केही समययता तपाईंले ‘पहिला म जेलमा भएको बेला परेकाले उनीहरूले आधिकारिकता पाएका हुन्, नत्र म मेरो मुद्धाजस्तै सेटिङ गर्थेँ । अब यो पालि त्यस्तो हुन नदिन मिलाइसकें, फलानी–फलानो श्रीमानलाई राति भेटेको छु, उनीहरूका मान्छे भेटिसकेँ, स्टे पनि आउँछ, आधिकारिकता पनि आउँछ’ भन्नुभएको रहेछ कहीँ कतै।’
उनले खड्कालाई अदालतका कर्मचारीदेखि न्यायाधीशसम्मलाई मिलाएको भन्दै हिँड्न छाड्न आग्रह गरिन्। यस्तो कार्यले न्यायालयप्रतिको आम नागरिकको विश्वसनीयता घटाउने उनको भनाइ छ।
थापा मगरले राजनीतिक लडाइँ राजनीतिक तरिकाले र कानुनी लडाइँ कानुनी तरिकाले लड्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘तपाईंहरूले राजनीतिक कुरालाई बारम्बार कानुनी बनाउनुभएको छ, त्यो पनि केही छैन, हामी त्यो पनि सामना गर्छौं।’
