रसुवामा आएको बाढीले अवरुद्ध पारेको पृथ्वी राजमार्ग तीन दिनपछि पुनः सञ्चालनमा आएको छ। शुक्रबार साँझदेखि राजमार्गमा यातायात सुचारु भएको सडक विभागले जनाएको छ।
राजमार्गको मलेखु नजिकको पोखरी, बाँगे र गलौदी क्षेत्रमा जमेको लेदो हटाउने काम सकिएपछि यातायात सञ्चालनमा ल्याइएको हो। बाढीका कारण गल्छी–बैरेनी खण्ड लेदोमाटोले पुरिएपछि राजमार्ग अवरुद्ध भएको थियो। यसअघि बिहीबारदेखि उक्त खण्डमा एकतर्फी यातायात सञ्चालन गरिएको थियो।
जरिखेत खण्डमा पुल बगाउँदा सडकसमेत पुरिएको थियो। उक्त स्थानमा पनि लेदो हटाएर यातायात सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ।
सडक विभागका उपमहानिर्देशक अर्जुन अर्यालका अनुसार राजमार्गको गलौँदी, बाङ्गे, पोखरे, जरेखेत र बैरेनी लगायतका क्षेत्रमा ३ देखि ४ मिटरसम्म अग्लो लेदो र डेब्रिज थुप्रिएको थियो। यसका कारण गजुरीदेखि बैरेनीसम्मको सडक खण्ड पूर्णरूपमा ठप्प बनेको थियो।
उप महानिर्देशक अर्यालले यस पटकको प्राकृतिक प्रकोप र पहिरोको प्रकृति विगतको तुलनामा भिन्न र चुनौतीपूर्ण रहेको बताए। ‘सामान्यतया सडक अवरुद्ध भएको २ देखि ४ घण्टाभित्र खुलाउने हाम्रो अनुभव र कार्यतालिका हुने गर्थ्यो तर, यसपटक सडकमा जम्मा भएको पाङ्गो माटो बाहिरबाट हेर्दा ठोस देखिए पनि मेसिनले चलाउनासाथ लेदोमा परिणत हुने प्रकृतिको थियो’, उनले भने,‘बस्तीका कारण निकासको अभाव र मेसिनरी उपकरण पुर्याउन देखिएको कठिनाइ बावजूद तीन दिनको निरन्तर प्रयासपछि सडक खुलाउन सफल भएका छौँ।’
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले गल्छी-मलेखु खण्डमा थुप्रिएको लेदो पन्छाइएको र राजमार्गमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको बताए। राजमार्ग बन्द हुँदा काठमाडौं उपत्यकामा अत्यावश्यक वस्तुको आपूर्ति रोकिएको थियो।
सडक खुलाउन निर्माण व्यवसायी, सुरक्षा निकाय, स्थानीय सरकार र सर्वसाधारणले संयुक्त रूपमा श्रम र साधन परिचालन गरेका थिए। सुरक्षा संवेदनशीलता र मौसमसम्बन्धी प्रतिकुल सूचनाका कारण बीचमा केही घण्टा काम स्थगित गर्नुपर्दा सडक सञ्चालनमा केही ढिलाइ भएको विभागले जनाएको छ।
हाल पहिलो चरणमा राजमार्गमा अलपत्र परेका र अत्यावश्यक सवारीसाधनलाई प्राथमिकताका साथ गन्तव्यतर्फ पठाइएको छ। सडक विभागले अझै पनि जोखिम कायमै रहन सक्ने भन्दै आम सर्वसाधारणलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
