काठमाडौं प्रहरीले अमेरिका पठाइदिने प्रलोभन देखाएर ३८ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रोल्पाकी ५४ वर्षीया निर्मलाकुमारी श्रेष्ठलाई टेकुबाट पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार, श्रेष्ठले बेरोजगार युवायुवतीलाई अमेरिकामा आकर्षक तलबको रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारी ठगी गरेकी थिइन्। काठमाडौंको चन्द्रागिरि स्थायी घर भएकी श्रेष्ठले पीडितहरुबाट पटक पटक गरी उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकी श्रेष्ठले रकम बुझेपछि पीडितलाई लामो समयसम्म झुक्याएर राखेको र विदेश पठाउने प्रक्रिया अघि नबढाई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
उक्त घटनाको थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि निर्मलाकुमारी श्रेष्ठलाई वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको कार्यालयका सूचना अधिकारी कार्कीले जानकारी दिएका छन्।
