चितवनका केरा किसान उत्पादन बढे पनि उचित मूल्य नपाएर समस्यामा परेका छन्। केराको मूल्य प्रतिकोसा तीनदेखि चार रुपैयाँमा झरेको छ। गत वर्ष केरा आयातमा रोक लागेपछि किसानले उत्पादन बढाएका थिए।
नेपाल केरा उत्पादक महासङ्घका अध्यक्ष विष्णुहरि पन्तका अनुसार केही दिनअघिसम्म नौ रुपैयाँसम्ममा बिक्री हुने केराको मूल्यमा अस्वाभाविक गिरावट आएको छ। हाल किसानले प्रतिकोसा तीनदेखि चार रुपैयाँमा केरा बिक्री गर्न बाध्य छन्।
देशभर २३ हजार बिघामा केरा खेती गरिन्छ। किसानले केरा आयात रोकिएपछि तीन हजार बिघा थप क्षेत्रफलमा खेती विस्तार गरेका छन्। यसले गर्दा आगामी वर्ष केरा निर्यात गर्नुपर्ने अवस्था आउने पन्तको भनाइ छ।
काठमाडौं, पोखरा, नेपालगञ्जजस्ता प्रमुख बजारमा केराको मूल्य घटेको छ। समयमा बजार व्यवस्थापन हुन नसक्दा यस्तो अवस्था आएको हो। किसानले फागुन, चैत र वैशाखसम्म बजारमा आपूर्ति कायम राख्ने गरी उत्पादन योजना बनाएका छन्।
केराको कुल उत्पादन नौ लाख मेट्रिक टन पुगेको छ। दसैँ, तिहार र छठजस्ता चाडपर्वसम्म केराको मूल्यमा वृद्धि हुने सम्भावना छ। फागुन महिनापछि मूल्य बढ्ने अनुमान गरिएको छ।
केरा उत्पादक सङ्घ, चितवनका अध्यक्ष घननाथ महत्तोले किसानको उत्पादन नउठाउने र सस्तोमा लगेको सामान महँगोमा बेच्ने प्रवृत्तिले समस्या थपिएको बताए। उपभोक्ताले जी नाइन केरा प्रतिदर्जन १०० रुपैयाँभन्दा बढीमा खरिद गरिरहेका छन्।
भोटेकोशी–त्रिशूली बाढीका कारण राजधानीलगायत ठूला बजारमा केरा पठाउन नसक्दा पनि मूल्य घटेको छ। रत्ननगर नगरपालिका–१२ का किसान शङ्कर सुवेदीले बाढीले गर्दा विभिन्न स्थानमा पुर्याउन नसक्दा मूल्यमा असर परेको बताए। उनले बाह्रै महिना उत्पादन दिने जातको केरा लगाउन सुरु गरेको जानकारी दिए।
गत असोज ६ गते सरकारले केरा आयातमा रोक लगाउने निर्णय गरेको थियो, जुन पुस ६ गतेदेखि कार्यान्वयनमा आएको थियो। यसबाट उत्साहित भएर किसानले खेती बढाएका हुन्। नेपालमा मालभोग, जी नाइन र चिनी चम्पा जातको केरा खेती हुँदै आएको छ।
